मधेश प्रदेश सरकारले आसिफलाई दुई लाख पुरस्कार दिने

पोखरा स्पोर्टस । मधेश प्रदेश सरकारले राष्ट्रिय क्रिकेट खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको छ ।

बेलायतको प्रसिद्ध मेरिलबर्न क्रिकेट क्लवले यसै साता आसिफलाई ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश र देशको शिर ठाडो पार्ने आसिफलाई सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

पर्सा जिल्लाको वीरगञ्ज निवासी आसिफले २०२२ फेब्रुअरी १४ मा आयरल्याण्डविरुद्धको टी–२० अन्तराष्ट्रिय खेलमा आयरिस खेलाडी एन्डी म्याकब्रायनलाई रन आउट गर्ने अवसर पाउँदा पनि खेलभावना देखाउँदै रनआउट नगरेपछि आइसीसी (अन्तराष्ट्रिय क्रिकेट काउन्सिल) ले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ समेत प्रदान गरेको थियो ।

सो म्याचमा एन्डी म्याकब्रायन नेपाली बलर कमलसिंह ऐरीसँग जुधेर लडेपछि आसिफको हातमा बल आएको थियो । रनआउट गर्ने सहज मौका हुँदा पनि उनले आउट गरेनन् । त्यसैले आइसीसीले आसिफको खेलभावनाको उच्च सम्मान गर्दै वर्षको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरेको थियो ।

सोही सन्दर्भमा अस्ट्रेलियाको फक्स स्पोर्टस्लेसमेत ‘ब्रिलिएन्ट स्पोर्टस्म्याानसिप फ्रम नेपाल’ भनेर आसिफको प्रशंसा गरेको थियो ।

विशेष गरी उदाहरणीय खेल भावनाको परिचय दिदै विश्वभरिका क्रिकेटप्रेमीहरुको मन जितेर प्रदेश र देशको प्रतिष्ठा बढाएकोमा उच्च कदर गर्दै प्रदेश सरकारले सम्मानस्वरुप आसिफलाई सो रकम प्रदान गर्न लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close