
पोखरा स्पोर्टस । लामो विवाद र रस्साकस्सी पछि गण्डकी प्रदेश मुवाँथाई संघ विवाद मिलेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ रोहबरमा भएको बैठकले विवाद मिलाएको हो । उपाध्यक्ष गुरुङले केही महिना देखि यता भएको विवाद समाधानका लागि परिषदले भूमिका खेलेको बताउँदै अन्य खेल संघहरुमा भएका विवाद मिलाउन समेत परिषदले आफ्नो तर्फबाट पहल गर्ने बताए । “हामीले सानो पहल गरेका थियौं । दुवै पक्षलाई संगै राखेर गरेको प्रयास सफल भयो”–उनले भने ।
विवाद मिले संगै केन्द्रिय प्रतिनिधि छनौट समेत सम्पन्न गरिएको छ । यहि भदौ १ गते हुने केन्द्रिय अधिवेशनका लागि खगेन्द्र क्षेत्री, रुपक नेपाली र बिजय गुरुङ छनौट भएका छन् ।
गण्डकी प्रदेश मुवाँथाई संघका अध्यक्ष दिपक बहादुर गोदार समेतको उपस्थितीमा भएको बैठकले हाल सम्म पर्वत, बागलुङ र म्याग्दी गरि तिन जिल्लामा गठन भएका जिल्ला संघहरु समेत पूर्नगठन गरिने सहमती भएको छ भने प्रदेश संघको समेत पूर्नगठन गर्नका लागि तदर्थ समिति गठन गरिएको उपाध्यक्ष गुरुङले बताए ।
त्यसै गरि सहमती अनुसार प्रदेश तदर्थ समितिको संयोजक गोदार रहेका छन् भने सह–संयोजकमा खगेन्द्र क्षेत्री रहेका छन् । कुल ९ जनाको तदर्थ समिति गठन भएको परिषदले जनाएको छ ।
