
पोखरा स्पोर्टस । पर्वतको कुश्मामा खुल्ला तथा सि–लेभल पुरुष डबल्स् ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
“राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद“ भन्ने नाराका साथ पर्वत स्पोर्टस् हाउस कुश्माको आयोजनामा उक्त प्रतियोगिता यहि भदौ ८ र ९ गते हुने भएको हो । कुश्मास्थित मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडगाँउमा हुने प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको संयोजनमा हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा खुल्लातर्फ नेपालमा २० औं वरियता भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन भने सि–लेभलतर्फ साविकको धौलागिरी अञ्चल भित्रका खेलाडी र देशभरी छरिएर रहेका पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्यहरुको सहभागिता रहनेछ ।
ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादन एवं कुश्माको पर्यटन क्षेत्रको विकासको लागि गर्न लागिएको प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार नगद रु ४० हजार, द्वितीय रु २० हजार र तृतीय रु १० हजारका साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने सि–लेभल तर्फ प्रथम पुरस्कार नगद रु २० हजार, द्वितीय रु १० र तृतीय नगद रु ६ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुनिल थापाले जानकारी दिए ।
यसै गरि खुला र सि लेभलतर्फ प्रथम हुने जोडीलाई हार्नेस जीपलाईन प्रालि कुश्माको तर्फबाट क्लासिक जीपलाईन निशुल्क गराइने हार्नेस जीपलाईन प्रालिका संचालक सुनिल बानियाँले बताए ।
भदौ ७ गते अन्तिम खेलाडी दर्ताका लागि समय रहेको र खेलाडीहरुको व्यवस्थापन आयोजकले गर्ने खेल संयोजक एवम् पर्वत मोदीकाली ब्याडमिन्टन संघ कुश्माका कोषाध्यक्ष राम पुनले जानकारी दिए । प्रतियोगितामा देशै भरिका खेलाडीहरुको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।
