
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न विश्वकै कठिन मानिएको ४ हजार मिटरको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहासिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’को उपाधि स्वेडेनका योहान हेसलमार्कले जितेका छन् ।


प्रतियोगिता अन्तर्गत सम्पन्न ३ं.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड धावक हेसलमार्कले १६ घन्टा ८ मिनेट १२ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।
उपाधि जिते पछि कुरा गर्दै उनले आफू विभिन्न देशमा प्रतियोगितामा सहभागी भए पनि नेपालको अनुभव निकै रोमाञ्चपूर्ण रहेको बताए । उनले भने–“यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाँए ।”
त्यस्तै प्रतियोगितामा चेक रिपब्लिकका फिलिप सोल्क दोश्रो भएका छन् । उनले दौड पुरा गर्न १६ घन्टा २९ मिनेट २६ सेकेण्ड लगाए । उनले पौडीका लागि ४५ मिनेट ३८ सेकेण्ड, साइक्लिङका लागि ६ घन्टा १९ मिनेट २८ सेकेण्ड र दौडका लागि ९ घन्टा १४ मिनेड १८ सेकेण्ड लगाएका थिए । त्यसै गरी तेश्रो स्थान प्राप्त गरेका चेक रिपब्लिकका पिटर भावरोसेकले उक्त दुरी १६ घन्टा ४० मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए । उनले पौडी ४६ मिनेट ६ सेकेण्ड, साइक्लिङ ६ घन्टा ४० मिनेट ४७ सेकेण्ड र दौड ९ घन्टा ३ मिनेट २० सेकेण्डमा पुरा गरेका थिए ।
यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । सहभागी विभिन्न १७ देशका सहभागी मध्ये १२ जनाले रेस पुरा गरेको आयोजक मध्येका एक दिवश योन्जनले जनाएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४००० मिटरको उचाई छुन भने असफल भइन् ।
यसै गरी सहभागिहरुलाई मेडल र टिशर्ट वितरण गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले यो प्रतियोगिताले पोखरालाई साहासिक खेलकुदको गन्तव्य बनाउन निकै सहयोगी रहेको बताए । उनले सहभागी खेलाडीहरुलाई बधाई दिंदै प्रदेश खेलकुद परिषदले आगामी वर्षहरुमा हुने यस प्रकारका प्रतियोगिताहरुलाई सहयोग गर्ने उल्लेख गरे । उनले भने–“यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै छैन गण्डकी प्रदेश साहासिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको छ ।”
प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए । उनले भने–“हामीले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेका छौं । प्रतियोगी र सहयोगी सबैलाई आयोजकको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।” निकै चुनौतीपूर्ण रहेको यो प्रतियोगितालाई आगामी वर्षमा समेत निरन्तरता दिने बताउँदै योन्जनले प्रचार प्रसार नगरीकनै ४७ भन्दा वढीले यो प्रतियोगितामा सहभागीता जनाउने इच्छा जाहेर गरेको बताए ।
कार्यक्रममा अग्रज खेलकर्मी खड्ग बहादुर रानाभाटले समेत विजेता खेलाडीलाई मेडल वितरण गरेका थिए ।
प्रतियोगितामा नेपाल सहित १७ देशका सहभागी खेलाडी र उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरु प्रतियोगिताका लागि करिव एक साता भन्दा वढी पोखरा रहेर अभ्यास समेत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत फेवतालमा ३.८ किमी पोडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड भएको थियो । खेलाडीहरु साइकलबाट पोखरा हुँदै बागलुङ कलिकास्थान मन्दिर हुँदै फर्किएर पुनः कास्कीको काँडेबाट दौड सुरु गरेका थिए । कास्कीको पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै पुनः कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर सम्पन्न भएको थियो ।
