
पोखरा स्पोर्टस । पोखरा रंगशालामा निर्माणाधिन ओभरहेड पानी ट्याङकी निर्माण कार्य अलपत्र छ ।
गत बैशाख २०८० मसान्तमा सक्नु पर्ने उक्त निर्माण कार्य ३ महिना ढिलो हुँदा अलपत्र बनेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पोखरा रंगशाला भित्र पानी वितरण कार्यलाई सहज बनाउन गर्न ठेक्का दिएको थियो ।
काठमाण्डौको निर्माण कम्पनी सागर निर्माण सेवा प्रा.लिले गत २०७९ पुषमा निर्माण कार्य सुरु गरेको भए पनि टङ्याकीको पिलर मात्रै ठडाएर विचमा नै छोडेको छ । ५ महिना भित्र सक्ने गरी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटबाट राखेप उक्त कम्पनीलाई ८० लाखमा राखेपले ठेक्का दिएको थियो ।
१९.२ मिटर लम्वाई र ४.२ मिटरको रेडियसमा फैलिएको उक्त ओभरहेड पानी ट्याङ्कीको निर्माण सम्पन्न भए पछि पोखरा रंगशालामा पानीको अभाव समाप्त हुने अपेक्षा गरिएको थियो ।
यता जिल्ला खेलकुद विकास समितिका प्राविधिक अनिल अधिकारीले निर्माण कम्पनीले समयमा काम नसके सोही अनुसार कार्वाही हुने बताए । “बैशाख मसान्त भित्र निर्माण कार्य सक्नु पर्ने थियो । तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै आएको छ । समयमा काम नसके नियमानुसार कार्वाही हुन्छ”–उनले भने ।
पोखरा रंगशालामा मुख्य गरी फुटबल स्टेडियम, बहुउद्धेश्यिय कभर्डहल, व्याडमिन्टन हल, टेवुल टेनिस हल, मार्शल आर्ट हल, भलिवल ट्रेनिङ सेन्टर, बास्केटबल कोर्ट, टेनिस कोर्ट, आर्चरी खेल मैदान, स्केटिङ पार्क, स्क्वास तथा र्याकेट हल, क्रिकेट खेल मैदान कार्यालय लगायत अन्य ठाउँमा पानी नहुँदा खेलाडी तथा दर्शकहरुले लामो समय देखि समस्या भोग्दै आएका छन् ।
