
पोखरा स्पोर्टस । कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा)ले डोपिङ परिक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ ।
डोपिङ कन्ट्रोल अफिसर्स (डीसीओ) को प्रशिक्षक प्रशिक्षणका क्रममा काडाले नेपाल ओलम्पिक कमिटी अन्तर्गतको मेडिकल कमिसनलाई १६ लाख रुपैंया बराबरको सामग्री सहयोग गरेको हो ।

कमिटीको आयोजना तथा काडाको संयोजकत्वमा दुई दिने डीसीओ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको थियो । यो कार्यक्रमपछि अब नेपालमै डीसीओ उत्पादनका लागि प्रशिक्षणको कार्यक्रम संचालन गर्न सकिनेछ ।
समापन कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदलाई प्रभावकारी बनाउन प्रशिक्षण महत्वपूर्ण रहेको बताउँदै नेपाली खेलकुदलाई प्रतिबन्धित शक्तिवर्द्धक औषधीको प्रयोगबाट जोगाउनु पर्नेमा जोड दिए । उनले नेपाली खेलकुदमा शक्तिवर्द्धक औषधीको प्रयोग रोक्न अझै धेरै चुनौती रहेको उल्लेख गरे ।
सो अवसरमा काडाका सीओओ मुङ सु–किमले डीसीओ उत्पादन गर्ने जनशक्ति नेपालमै तयार भएकोमा खुसी व्यक्त गरे ।
यसअघि डीसीओ उत्पादनका लागि विदेश जानु पर्ने अथवा विदेशी प्रशिक्षक नेपाल आउनु पर्ने बाध्यता थियो ।
