
पोखरा स्पोर्टस । लायन्स क्लव अफ पोखरा ग्रिन सिटिले कास्कीबाट प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरि पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।

क्लवले ५ जना तेक्वान्दो खेलाडीहरुलाई उनीहरुको उच्च प्रदर्शनको आधारमा नगद सहित सम्मान गरेको हो । सिनियर तेक्वान्दो प्रशिक्षक बलराम लामाको संयोजकत्वमा भएको कार्यक्रममा आयुष गुरुङ, अर्पणा अधिकारी, निरोज बहादुर नेपाली, मञ्जली थापा र केजिन गुरुङलाई सम्मान गरेको हो ।
आयुषले नवौं राष्ट्रिय खेलकुदमा टिम र एकलतर्फ १ स्वर्ण र १ काश्य पदक, अपर्णाले नवौं राष्ट्रिय टिम र एकलतर्फ १ स्वर्ण र १ काश्य पदक, अन्तर्राष्ट्रिय जि २ मा एक रजत र एक काश्य पदक जितेका थिए । त्यसै गरी निरोजले नवौ राष्ट्रिय खेलकुदमा एक काश्य, मञ्जली र केजिनले जिल्लास्तरिय प्रतियोगितामा १–१ काश्य पदक जितेका थिए ।
खेलाडीहरुलाई लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि एम नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर चण्डी प्रसाद अर्याल, डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर किशोर बराल, क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बानियाँ, कार्यालय प्रमुख सुन बहादुर लामा, कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङ, नवराज भण्डारी लगायतले नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।
