
पोखरा स्पोर्टस । १३ औं एसियाली खेलकुद पदक विजेता सपना मल्लले आफूहरुले एसियन गेम्समा त्यसै पदक जितेको नभई मेहनतको प्रतिफल रहेको बताएकी छन् । सन १९९८ मा बैङ्ककमा सम्पन्न एसियाडमा तेक्वान्दोमा नेपालले तिन पदक जितेको थियो । जसमा सविता राजभण्डारीेले रजत र सपना तथा किशोर श्रेष्ठले काश्य पदक जितेका थिए ।
कर्म थलो अमेरिका देखि आफ्नो जन्म थलो पोखरा आइपुगेकी सपनाले आफ्ना विगतका कुराहरु स्मरण गर्दै भन्छिन–“हाम्रो बेलामा निकै गाह्रो थियो । अहिलेको जस्तो सुविधा पनि थिएन । न त प्रशिक्षणका लागि सुविधाजनक हल नै थियो । एउटा हलमा सबै खेलको प्रशिक्षण चलिरहँदा पालो कुर्नु पर्ने ।” विगतमा भन्दा अहिले खेलाडीहरु धेरै सुविधामा रमाउँदा देशले सोचे जस्तो पदक पाउन नसकेको उनको भनाई थियो ।
तनहुँ रायपुरकी सपना २ घन्टा लगाएर स्याङजा कोल्माको विद्यालयमा अध्ययन गरेको विगतको संघर्षका बारे कुरा गर्दै भन्छिन–“विद्यालयमा पढ्दा नै विरेन्द्र शिल्डमा सहभागिता जनाए । आठ कक्षा पढ्दा पढ्दै सिङापुर पुगे जुनियर एथलेटिक्समा सहभागिता जनाउन । कुनै समय रोकियन मेरो खेलकुद यात्रा । कहिले एथलेटिक्स त कहिले तेक्वान्दो ।”
उतीबेलाको त्यो कठिन प्रशिक्षणको समेत सपनालाई अझै झल्को आइरहन्छ । कडा अनुशासन र कडा परिश्रमका विच प्रशिक्षण गरिरहँदा टिमको कुनै एक साथीले गल्ति गर्दा सबैले सामुहिक पिटाई खानु पर्ने । “ति दिन हरुनै त्यस्तै थिए । गुरुले दिएको टास्क पुरा गर्ने पर्थ्यो। रोकिने कुरै थिएन । आफूले गल्ति नगर्दा पनि एकले गरेको गल्तिमा सबैले सामुहिक सजाए भेग्नु पर्थ्यो”–उनी भन्छिन–“त्यसैले पनि हामीले राष्ट्रिय झण्डालाई १३ औं एसियाली खेलकुदमा फहराउन सक्यौं ।”
अहिलेका खेलाडीहरुमा फलामे अनुशासन नहुँदा उनलाई दिक्क लागेर आउँछ । खेलमा सर्मपित हुन पहिलो शर्त अनुशासन रहेको सपना बताउँछिन । विदेशमा बसेर पनि तेक्वान्दो खेलको विकासका लागि केही न केही गरिरहेको उनी बताउँछिन । १९ औं एसियाली खेलकुदमा जाने खेलाडीहरुले देशलाई सम्झिएर केही गर्न सके सबै नेपालीहरुको शिर उच्च हुने उनको भनाई छ । उनी भन्छिन्–“खेलाडीले कडा परिश्रम बाट नै उपलव्धि हासिल हुन्छ । त्यसमा ध्यान दिन आग्रह गर्छु ।”
अहिलेका खेलाडीहरुमा बढ्दै गएको सुविधभोगी चिन्तनबाट बाहिर निस्कन सके नेपालले अन्तर्राष्ट्रिय एरिनामा छाप छोड्न सक्ने उनी बताउँछिन–““हाम्रो जस्तो दुःख अहिलेका खेलाडी नपाउन तर अहिले खेलाडी जे सुविधा पाएका छन् त्यो सुविधा हामीले पाएनौं । खेलाडीलाई सुविधा दिनु पर्छ तर त्यो सुविधा खेलाडीहरुले आफ्ना लागि भन्दा पनि खेलप्रति केन्द्रित गर्नु पर्छ जसका कारण देशको शिर उच्च होस ।”
