ह्याण्डबल खेलाडी रञ्जना बारे राखेपद्वारा गठित ह्याण्डबल संघ यसो भन्छ

पोखरा स्पोर्टस । नेपाली ह्याण्डबल महिला टिमकी खेलाडी रञ्जना राईको समाचार भ्रमपूर्ण रहेको राष्ट्रिय खेलकुद परिषद द्वारा गठित नेपाल ह्याण्डबल संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचइफ)ले मान्यता दिएको संघ र राखेपले गठन गरेको तदर्थ समिति गरी दुई ह्याण्डबल संघ अस्तित्वमा रहि रहेकै बेला रञ्जनाले आफूलाई १९ औं एसियाली खेलकुदमा कुनै भूमिका नदिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखे संगै राखेप निकट ह्याण्डबल संघले उक्त भनाई भ्रमपूर्ण रहेको जनाएको हो ।

रञ्जनाको सहभागिताका लागि दुई महिना अघि नै लङ लिष्टमा नाम पठाइएको दावी गर्दै राखेपद्वारा गठित नेपाल ह्याण्डबल संघ तदर्थ समितिका अध्यक्ष विश्ववम मल्ल र महसचिव सन्देश रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तीमा खेलाडी र प्रशिक्षकको रुपमा रञ्जनालाई पटक–पटक अवसर नै अवसर दिएको तथा  विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ–“१९ औं एसियाली छनौट प्रक्रिया नवौं राष्ट्रिय खेलकुदमा सहभागि रहेका खेलाडीहरुबाट गरिएको तर रञ्जना सो समय मधेश प्रदेशबाट टिम प्रशिक्षकको जिम्मेवारी सम्हालेकोले खेलाडीको रुपमा सहभागि नभएको जानकारी गराउन चाहन्छौं ।

तर रञ्जना भने राखेप निकट ह्याण्डबल संघको भनाई र गराई प्रति विश्वस्त नहुँदै आफ्नो भनाई सामाजिक सञ्जालमा पोखेकी छन् । मेहनत, सङ्घर्ष र विगतमा दिलाएको सफलताको कुनै महत्त्व नदिइएकोमा आक्रोश व्यक्त गर्दै आफ्नो फेसबुकमा लामो भनाई राख्दै यस बारे बारम्बार संघ संग जवाफ मागेको तर कुनै जवाफ नपाएको उनले बताएकी छन् । उनले छनोट प्रक्रियामा नै नभएको खेलाडी समेत टोलीमा समावेश गराएको तर आफूलाई त्यो अवसरबाट बञ्चित गराएको उल्लेख गर्दै भनेकी छन्–“मलाई दोश्रो चरणको छनौटका लागि खबर नगर्नु बदनियतपूर्ण थियो । म त्यो छनौट प्रक्रियामा कोही भन्दा कमजोर छैन ।”

उदयपुरबाट ह्याण्डबल खेल्न सुरु गरेकी रञ्जना नेपाल आर्मी खेलाडी हुँदै राष्ट्रिय टिमको टिम कप्तानी समेत सम्हाली सकेकी छन् । उनले भारतको पटियालाबाट प्रशिक्षकको एनआइएस कोर्ष समेत गरेकी छन् भने आफ्नो ह्याण्डबलको लामो अनुभवलाई १९ औं एसियाली खेलकुदमा खेलाडीको रुपमा सर्मपित गर्न चाहेकी छन् ।

१९ औं एसियाली खेलकुदमा सहभागिताका लागि जाने नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close