
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्याराग्लाइडिङ खेलाडी स्व.निसिम थापाको अर्ध कदको शालिक निर्माण प्रक्रिया सुरु गरेको छ ।


नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा २०७९ असोज ३० गते प्रतिस्पर्धा गर्ने क्रममा नेपाली सेनाका खेलाडी रहेका निसिमको दुर्घटनामा परि निधन भएको थियो । खेलकै क्रममा निधन भए संगै राखेपले उनको अर्ध कदको शालिक पोखरा रंगशालमा राख्ने घोषणा गरेको थियो ।
पोखरा रंगशालामा मंगलबार स्व.निसिमका बुवा प्रकाश थापा, आमा सावित्री मोक्तानसहित राखेपका सदस्य राजेश कुमार गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, डिवी नेपाली, जिल्ला खेलकुदका प्राविधिक अनिल अधिकारीले स्व.निसिमको शालिक राख्ने स्थानको समेत तय गरेका छन् ।
सो अवसरमा राखेप सदस्य गुरुङले प्याराग्लाइडिङका कुशल यूवा खेलाडी निसिमलाई यादगार बनाइराख्न पार्कसहित अर्धकदको शालिक राख्ने बताए । उनले भने–“हामीले ठूलो क्षती व्यहोरेका छौं । खेलकुद क्षेत्रमा कहिल्यै विर्सन नसकिने यो दुखद घटना थियो । हामीले यूवा खेलाडी निसिमलाई यादगार बनाइराख्न राखेपले घोषणा गरे बमोजिम यो शालिक निर्माणको तयारी थालेका छौं ।”
पोखरा रंगशाला परिसर भित्र राखिने शालिक संगै शािलक वरपर पार्कको समेत व्यवस्था गरिने राखेप सदस्य गुरुङले बताए । उक्त शालिक नवौं राष्ट्रिय खेलकुदको क्रममा निर्माण गरिएको ओलम्पिक टर्चको नजिकैको स्थानलाई तय गरिएको छ ।
शालिक निर्माण पछि कुरा गर्दै स्व.निसिमका बुवा प्रकाश थापाले आफ्नो छोराको शालिक निर्माण प्रक्रिया सुरु भएकोमा खुसी व्यक्त गरे । उनले भने–“यो प्रक्रिया पहिल्यैबाट बनाउनका लागि सुरु गर्ने भनिएको थियो । हामी परिवार यसका लागि खुसी नै छौं । निसिमको आत्मिक शान्ती र उसले खेलकुदलाई गरेको योगदानका लागि सम्मान गरियो भने यसले खेलकुद क्षेत्रलाई सकारात्मक सन्देश दिनेछ ।” उनले शालिक निर्माण प्रक्रियालाई ढिलै भए पनि निसिमको शालिक निर्माणमा सरोकार राख्ने सबै प्रति आभार समेत व्यक्त गरे ।
स्मरणिय के छ भने निसिमको निधन संगै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोलो प्याराग्लाइडिङ विशेष गरी खेलकुदमा हुने सम्पूर्ण गतिविधि माथी लगाएको प्रतिवन्ध अझै फुकुवा भएको छैन । १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको नेपालले प्याराग्लाइडिङ खेलको रुपमा उडान हुने सोलो उडान बन्द हुँदा खेलाडीहरु भने मारमा परेका छन् ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष बसन्तराज दवाडीले क्यानले प्याराग्लाइडिङ खेलको रुपमा भन्दा पनि व्यवसायिक रुपको आँखाले हेर्दा प्याराग्लाइडिङ खेल मारमा परेको बताए । उनले भने–“नवौंमा भएको घटना दुखद थियो । तर सोलो उडान रोक्दा खेल क्षेत्र प्रभावित बनेको छ ।”
