
पोखरा स्पोर्टस । यू–१६ फुटबलका लागि गण्डकी प्रदेशबाट ४५ जनाको छनौट गरिएको छ ।
गण्डकी प्रदेश फुटबल संघले आइतबार र सोमबार सञ्चालन गरेको कार्यक्रमबाट ति खेलाडीहरु छनौट गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङले जानकारी दिएका हुन् ।
छनौट प्रतियोगिताका लागि ९ जिल्लाबाट २ सय १८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगिताबाट मनाङ र पर्वतबाट २–२ जना, गोर्खा बाट ८, कास्कीबाट ९, नवलपुरबाट १० जना, स्याङ्जाबाट ४, लम्जुङबाट ४, बागलुङबाट १ र तनहुँबाट ५ जना अन्तिम छनौटमा परेका छन् ।
छनौट भएका खेलाडीहरुले यहि साउन १६ देखि २० सम्म काठमाण्डौमा हुने अन्तिम छनौटका लागि प्रतिष्पर्धा गर्ने संघका महासचिव बिनोद गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रदेश फुटबल संघ योजनावद्धरुपमा अघि बढ्छ–अध्यक्ष श्रेष्ठ
यता पोखरा स्पोर्टस संग कुरा गर्दै गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले संघलाई योजनावद्ध रुपमा रुपमा अघि बढाउने बताएका छन् । संघले भदौ दोश्रो साता भित्र आफ्नो ४ वर्षे कार्य योजना सहित अघि बढ्ने बताउँदै अन्तर्राष्ट्रियस्तरका मैत्रीपूर्ण खेलहरुलाई प्राथमिकतामा राख्ने बताए । उनले भने–“हामी संघलाई सक्षमरुपमा उभ्याउन चाहन्छौं । आर्थिक रुपलेसमेत सक्षम बनाउन अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताको योजना बनाउने छौं जसबाट फण्ड उठाउन सकियोस ।”
यसै गरी प्रदेश लिग, जिल्ला लिग र प्रदेश भित्र हुने विभिन्न फुटबल प्रतियोगिताहरुलाई व्यवस्थित बनाउन तयारी समेत गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । “मोफसलमा भएका खेलहरुको संस्थागत विकास, रेफ्रि र प्रशिक्षकहरुको व्यवस्थापन गर्ने हाम्रो योजनाहरुमा रहेका छन्,” उनले भने–“फुटबल लाई ग्रासरुट बाटै विकास गर्ने हाम्रो योजना समेत छ । हामी भदौको अन्तिम सम्म सबै विषयहरुमा ध्यान केन्द्रित गर्दै अघि बढ्दैछौं ।”

