
पोखरा स्पोर्टस । अन्ततः कास्की जिल्ला फुटबल संघले आफ्ना खेलाडीहरु यू–१६ गण्डकी प्रदेशस्तरिय छनौट प्रतियोगितामा सहभागिता गराउने भएको छ ।
प्रदेश खेलकुद परिषदको समन्वयमा, जिल्ला खेलकुद विकास समिति कास्की, गण्डकी प्रदेश फुटबल संघ र कास्की जिल्ला फुटबल संघ विच भएको छलफल पछि कास्कीले आफ्ना खेलाडी छनौटमा सहभागिता गराउने जनाएको हो । सो बारे कुरा गर्दै कास्की फुटबल संघका अध्यक्ष उज्जवल रञ्जितले प्रदेश खेलकुदको समन्वयमा भएको छलफलले केही सकरात्मक कुराहरु आएको बताए ।
आइतबार विहान छनौट प्रतियोगिता सुरु हुन पूर्व प्रदेश फुटबल संघले आफूहरु संग समन्वय नगरेको भन्दै छनौट खेल बहिस्कार गर्ने निर्णय गरिएको अध्यक्ष रञ्जितले जनाएका थिए । सो निर्णयबाट पछि हट्दै अन्ततः कास्की जिल्ला फुटबल संघले खेलाडीहरुलाई छनौटका लागि मैदानमा बोलाएको छ ।
“प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माज्यू लगायतले निकै ठूलो पहल गर्नु भयो” अध्यक्ष रञ्जितले भने–“हामी उहाँहरुको कुराबाट फुटबल विकासका लागि मिलेर जानु पर्छ द्वन्दका कारण खेलाडीको भविष्य माथी खेलवाड गर्नु हुँदैन भन्ने टुङ्गोमा पुग्यौं ।” कास्की जिल्ला फुटबल संघले छनौट गरेका २२ जना खेलाडहरु भोली सोमबार पोखरा रंगशालामा हुने छनौट खेलमा सहभागि हुने उनले बताए । छनौट भएका सबै खेलाडीहरुलाई भोली मैदानमा बोलाएको उनले जानकारी दिए ।
यता परिषदका सदस्य सचिव शर्माले फुटबलको हवको रुपमा रहेको कास्कीको सहभागिता बिना हुने छनौट कार्यक्रम अपुरो हुने बताए । “हामीले उहाँहरुलाई निकै गम्भिर रुपले सम्झाएका छौं । संघ भित्रको आपसी द्वन्दका कारण खेलाडीहरुको भविष्य अन्धकारमा धकेल्ने छुट कुनै संघलाई छैन । हामी उनीहरुको गलत कृयाकलापलाई टुलु–टुलु हेरेर बस्दैनौ । सम्झाउने हाम्रो पहिलो दायित्व हो । त्यस पछि कार्वाही दोश्रो पाटो ।”–उनले भने ।
कास्कीले सहभागिता नगराउने गरेको निर्णय प्रति आम कस्केली फुटबल प्रेमीहरुले दिनभरी जसो नै चासो देखाउँदै कास्की फुटबल संघको निर्णय प्रति आपत्ति जनाएका थिए । उनीहरुले संघको विवाद र व्प्यक्तिगत इगोका कारण खेलाडीहरुको भविष्य समेत खतरामा पारेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
