पोखरामा यू–१६ फुटबल छनौट सुरु : एन्फा भित्रको किचलो मैदानमा छताछुल्ल, कास्कीले गर्‍यो बहिस्कार

पोखरा स्पोर्टस । पोखरामा गण्डकी प्रदेशस्तरिय यू–१६ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशाला आइतबारबाट सुरु भएको दुई दिने छनौट प्रतियोगिताको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका छन् ।

सो अवसरमा खेलकुदमा यूवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै परिषदले समेत यूथ स्पोर्टसमा ध्यान दिएको सदस्य सचिव शर्माले बताए । उनले भने–“खेलमा हार जित हुन्छ तर पराजित टिमबाट नै प्रतिभावन खेलाडीको उदय हुन्छ ।” उनले छनौट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनौट हुनेमा आफू विश्वस्त रहेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष एवं छनौट कार्यक्रमका संयोजक मिलन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा क्रिकेट क्लवले ६ थान फुटबल संघलाई प्रदान गरेको छ । क्लवका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ ति बलहरु संघलाई हस्तान्तरण गरेका थिए ।

छनौट कार्यक्रममा गोर्खा, नवलपुर, बागलुङ, मनाङ, पर्वत, तनहुँ, स्याङजा, म्याग्दी र लमजुङका गरी करिव २ सय भन्दा बढि खेलाडीहरु सहभागि भएको संघका महासचिव बिनोद गुरुङले जानकारी दिएका छन् । नेपाली राष्ट्रिय टिमका एसिसटेन्ट प्रशिक्षक किरण श्रेष्ठको अगुवाईमा भएको उक्त कार्यक्रममा प्रशिक्षकहरु प्रल्हाद हिराचन, बेद बहादुर थापा, सुविन श्रेष्ठ, दिलिप थापा र ओम गुरुङ समेतको निरिक्षणमा हुने छ ।

प्रदेशबाट छनौट भएका खेलाडी काठमाडौंमा साउन १६ देखि २० गतेसम्म हुने अन्तिम छनौटमा सहभागि हुनेछन् ।

व्यक्तिगत इगो देखाउँदै कास्कीको बहिस्कार

पोखरा रंगशालामा सुरु भएको छनौट प्रतियोगिता भने कास्की फुटबल संघले बहिस्कार गरेको मात्रै छैन एन्फा भित्रको गुट उपगुटको तितक्ता समेत उदाङ्गो भएको छ । “प्रदेशको राजधानी सदरमुकाम पोखरामा भइरहेको छनौटमा आफूहरु संग प्रदेश फुटबल संघले समन्वय नगरेका कारण आफूहरु सहभागि नभएको” कास्की फुटबलका अध्यक्ष उज्जवल रञ्जितले बताइरहँदा प्रदेश फुटबलका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले भने व्यक्तिगत कुण्ठाका कारण खेलाडीहरुको भविष्य माथी खेलबाड नर्गन अध्यक्ष रञ्जितलाई सचेत गराएका थिए । उनीहरु एक आपसमा सो विषयमा कुराकानी गरिरहँदा एक पटक फेरी एन्फा भित्रको किचलो पोखरा रंगशालामा छताछुल्ल भएको छ ।

यहाँहरुको व्यक्तिगत इगोका कारण खेलाडीहरुको भविष्य अन्धाकार बनाउने अधिकार कसले दियो भन्ने प्रश्नमा अध्यक्ष रञ्जितले भने–“प्रदेशले हामीलाई समन्वय गरेन न त उसले हामीलाई कुनै खबर नै गर्यो ? यति ठूलो कार्यक्रममा कास्की संघ संग समन्वय नगरेका कारण ले नै हामीले सहभागिता जनाएनौं ।”

तर कास्कीले भने छुट्टै छनौट प्रतियोगिता गरी २२ जना खेलाडी सोझै केन्द्रियस्तरको छनौटमा पठाउने निर्णय गरिएको अध्यक्ष रञ्जितले बताए ।

प्रदेश संघ संग समन्वय वा छनौट स्तरिय नखेली सोझै केन्द्रियस्तरको छनौटहुन पाउने वा नपाउने अझै निक्र्यौल नभइसकेको अवस्थामा सभ्मावना नै सम्भावना बोकेको कास्कीको फुटबलमा भने ग्रहण लागेको स्पष्ट देखिएको छ ।

तर छनौटका लागि भने समान प्रकारको पत्र सबै जिल्लालाई पठाइएको संयोजक एवं वरिष्ठ उपाध्यक्ष गुरुङले सञ्चारकर्मीहरुलाई बताए । “हामीले समान प्रकारको पत्र सबै जिल्लालाई पठाएका छौं । सबैलाई जानकारी छ । यसरी संघ भित्रको विवादका कारण खेलाडीहरुको भविष्य माथी खेलवाड गर्नु हुँदैन्थ्यो । कास्कीले गलत गरेको छ” उनले भने ।

यता प्रदेश खेलकुद परिषद गण्डकीले समेत कास्कीको सहभागिताको विषयमा गम्भिर रुपले छानविन हुने बताए । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव शर्माले जिल्ला खेलकुद मार्फत स्पष्टिकरण लिइने बताउँदै यूवा खेलाडीहरुको भविष्य माथी कसैले व्यक्तिगत इगोको कुरा उठाएर खेलवाड गर्न नपाइने बताए । उनले भने–“यो गम्भिर विषय हो । कास्की एन्फाले किन खेलाडी पठाएन हामी यसको समिक्षा गर्छौं । गलत रहेछ भने कार्वाही समेत गर्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close