प्रदेश खेलकुद द्वारा खेल प्रशिक्षक र प्रशिक्षण केन्द्रहरु सूचिकृत गर्न आह्वान

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले खेल प्रशिक्षक, प्राविधिक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकरण गर्न आह्वान गरेको छ ।

परिषदले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिन भित्र सूचिकृत हुन आह्वान गरेको हो । प्रकाशित सूचनामा भनिएको छ–“परिषद, वा सो अन्तर्गत जिल्ला खेलकुद विकास समिति वा स्थानिय पालिका खेलकुद विकास समिति र सम्वन्धित प्रदेश खेल संघहरुबाट संचालित खेलकुद प्रशिक्षण केन्द्र (तालिम) तथा प्रशिक्षकहरुले आफ्नो वायोडाटा सहित ३५ दिन भित्र सूचिकृत हुन आह्वान गरिन्छ ।”

प्रकाशित सूचनामा प्रशिक्षकहरुको शैक्षिक योग्यता, प्रशिक्षण सम्वन्धि प्रमाणपत्र, प्रशिक्षण केन्द्रहरुको जानकारी, प्रशिक्षण गर्न आउने खेलाडीहरुको संख्या, विवरण र नामावली संगै प्रशिक्षण केन्द्रहरुको अनुमती पत्र, सम्वन्धित खेल संघको अनुमती समेत माग गरिएको छ । सूचना प्रकाशित भए संगै आगामी दिनमा गण्डकी प्रदेश भित्र आयोजनाहुने कुनै पनि स्तरका खेलकुद कार्यक्रमहरुमा प्रशिक्षण गर्नबाट सूचिकृत नभएका प्रशिक्षकहरु स्वतः बञ्चित हुनेछन् । 

कास्कीमा हालै मात्र केही खेल संघहरुले प्रशिक्षणका नाउँमा खेलाडीहरु संग रकम उठाएको विषय अख्तियार दुरपयोग अनुसन्धान आयोगमा उजुरी परे संगै प्रदेश खेलकुद परिषदले प्रशिक्षक र प्रशिक्षण केन्द्रहरुलाई थप व्यवस्थित र मर्यादित बनाउन यस्तो सूचना प्रकाशित गरेको जनाइएको छ ।

प्रकाशित सूचना बारे कुरा गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन प्रदेश खेलकुद विकास ऐन २०७७ बमोजिम सूचना प्रकाशित गरिएको बताए । “यो सूचिकरण पछि प्रदेशमा रहेका विभिन्न खेलकुदका प्रशिक्षकहरुको संख्या, उनीहरुको योग्यता र क्षमता संगै खेल तालिम केन्द्रहरुको विवरण जानकारी हामीलाई प्राप्त हुनेछ, जसबाट खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन सहज हुनेछ”- उनले भने ।

परिषदले केही दिन अघि मात्रै रेफ्रि, जज र एम्पयारहरु सूचिकृत हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close