
पोखरा स्पोर्टस । गण्डकी प्रदेशको भलिबल र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल ‘चौथो टाइगर कप भलिबल’को तयारीमा जुटेको छ ।
संस्थाको शनिबार सम्पन्न बैठकले चौथो संस्करणको तयारीमा जुट्ने निर्णय गरेको अध्यक्ष नारायण शर्माले जनाएका हुन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित वडा नं ८ लामद्वालीमा सम्पन्न साधारण सभा पछिको तेश्रो पूर्ण बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष शर्माले गण्डकी प्रदेश भलिबल संघ संग मितिका लागि पत्रचार गरिने जानकारी दिए । बैठकले काभा च्याम्पियनसिप लगतै चौथो टाइगर कप सस्करणका लागि संघ संग समय माग्ने योजना समेत रहेको उनले जनाए ।
बैठक पछि पोखरा स्पोर्टस संग कुरा गर्दै अध्यक्ष शर्माले भने–“हामीले यहि वर्ष दिसेम्वरमा काठमाण्डौमा आयोजना हुने काभा च्याम्पियनसिप लगतै काभामा सहभागि हुन आउने टिमलाई समेत टाइगर कपमा सहभागिता जनाउन मिल्ने गरी प्रतियोगिता आयोजना गर्ने सोच बनाएका छौं,” उनले भने–“जसका कारण पोखरामा हुने टाइगर कपमा अन्तर्राष्ट्रिय क्लवहरुको सहभागिता समेत बढ्नेछ ।”
बैठकले तेश्रो टाइगर कप भलिबल प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरु प्रति पुनः एक पटक आभार व्यक्त गर्दै चौथो संस्करण टाइगर कपको लागिसमेत देश विदेशमा रहेका खेलप्रेमीहरुलाई सहयोगको अपिल गरेको छ ।
टाइगर कप भलिबल प्रतियोगिता सफल बनाउन सबैको सुझाव र सल्लाहको अपेक्षा गर्दै बैठकले टाइगर ग्रुप अफ जापान शाखा गठनका लागि भूमिका खेल्ने अध्यक्ष शर्मासहित सबै प्रति आभार व्यक्त गरेको छ ।
यसै गरी बैठकले संस्थाको विधान समयनुकुल हुने गरी निर्माण गर्न अध्यक्ष शर्माको संयोजकत्वमा ५ सदस्यिय विधान संसोधन समिति गठन गरेको छ । जसको सदस्यमा संस्थाका उपाध्यक्षमा देवेन्द्र केसी, महासचिव प्रकाश बराल सचिव डिवी नेपाली र कार्यसमिती सदस्य धोज कुमार गुरुङ रहेका छन् ।
बैठकले एक साता भित्र संस्थाको लेखा परिक्षण गर्न कोषाध्यक्ष हरिकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ साथै सबै सदस्यहरुलाई सदस्यता नविकरण गर्न समेत आह्वान गरेको छ ।
