
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले १९ औं एसियाडको बन्द प्रशिक्षणको निरिक्षण गरेका छन् ।
https://www.youtube.com/watch?v=5YoeruJQLdY

चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडीहरुको तयारी प्रशिक्षण निरिक्षण गर्नुका साथै खेलाडीहरुको व्यवस्थापन संगै खेल सामाग्रीहरुको बारेमा जानकारी लिएका हुन् । सो अवसरमा उनले खेलाडीहरुलाई ढुक्क भएर प्रशिक्षण लिन भन्दै कुनै समस्या भए तत्कालै आफूलाई खबर गर्न समेत खेलाडीहरुलाई आग्रह गरे । उनले भने–“तपाईहरु ढुक्क भएर प्रशिक्षण गर्नुहोस । हामी यहाँहरुको अभिभावक हौं । यहाँहरुको समस्यालाई तत्कालै निवारण गर्नेछौं ।”
खेल सामाग्रीको आभावमा खेलाडीहरुलाई कुनै समस्या नपरोस भन्नका लागि राखेप सचेत रहेको बताउँदै १९ औं एसियाडमा नेपालले पदक जित्नेमा आफू ढुक्क रहेको बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै सदस्य सचिव घिसिङले भने–“हाम्रो तयारी राम्रो छ । हामी पदकका लागि नै १ढ औं एसियाली खेलमा भिड्दै छौं । यस पटक नेपालले राम्रो नतिजा ल्याउनेमा हामी विश्वस्त छौं ।”
एसियाली खेलकुदकै तयारीका क्रममा पाँच खेलहरुको बन्द प्रशिक्षण पोखरामा राखिएको बताउँदै पोखरामा रहेर प्रशिक्षण गर्न पाउनु उत्तिकै महत्वपूर्ण रहेको सहस्य सचिव घिसिङले बताए । “पूर्व घोषणा गरे अनुरुप नै पोखरामा बन्द प्रशिक्षण सुरु गरेका छौं । त्यो मात्रै नभई खेलाडीहरुलाई थप उत्साहित बनाउन अन्तर्राष्ट्रिय प्रशिक्षक संगै बैदेशिक प्रशिक्षणको तयारी समेत हामीले अभियानका रुपमा अघि बढाएका छौं”, उनले भने–“त्यसैले पनि हामी १९ औं एसियाडमा उच्च प्रदर्शन सहित पदक जित्नेमा ढुक्क छौं ।”
निरिक्षणको क्रममा सदस्य सचिव घिसिङले १९ औं एसियाडमा बन्द प्रशिक्षणमा रहेका आर्चरी, बक्सिङ र रग्बीका खेलाडी तथा प्रशिक्षकहरु संग छुट्ट–छुट्टै भेट गरेका थिए भने मैदान व्यवस्थापनका लागि सहजिकरण गर्न क्षेत्रिय खेलकुद विकास समितिलाई निर्देशन दिएका थिए ।
पोखरामा एसियाडको तयारीका लागि भारोत्तोलन र महिला ह्याण्डवल समेत केही दिन भित्र पोखरा आउने छन् । उनीहरु करिव २ महिना पोखरामा बन्द प्रशिक्षणमा रहनेछन् । त्यसै गरी नेपालमा नै हुने यू–२० रग्बी च्याम्पियनसिपका महिला तथा पुरुष गरी ४० जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् ।
