
पोखरा स्पोर्टस । यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीले पूर्व घोषित रकम पाउने भएको छ ।
गत २०७८ चैत १३ गते टोलीले विजेता खेलाडीहरुलाई जनही नगद रु ५०–५० हजार दिने घोषणा गरेको थियो । घोषित रकम करिव १६ महिना ढिलो गरी उनीहरुले पाउने भएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले खेलाडीहरुलाई रकम प्रदान गर्ने गरी समन्वय गरेको जानकारी दिंदै सदस्य सचिव शर्माले यहि असार २२ गते पोखरा रंगशालामा आयोजना हुने विशेष कार्यक्रममा खेलाडीहरुलाई रकम सहित सम्मान गर्ने बताए । उनले भने–“यो घोषणाले खेलाडीहरुको मनोवल उच्च हुने छ । उनीहरुको हौसला बढाउन प्रदेश सरकारले गम्भिर रुपमा लिएको पनि छ ।”
मुलुकको निर्वाचन संगै पटक पटकको सरकार परिवर्तनका कारण करिव करिव अनिश्चित जस्तै बनेको उक्त घोषणाले खेलाडीहरुमा निराशा छाएको थियो भने सामाजिक सञ्जालहरुमा समेत खेलाडीहरुले गुनासो गर्दै आएका थिए । मन्त्रालयको कार्यकक्षमा जितको खुसियाली खेलाडीहरुलाई सम्मानमा आयोजित एक कार्यक्रममा तत्कालिन सरकारका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले उक्त घोषणा गरेका थिए ।
कैलालीको धनगढीमा सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको थियो ।
गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली विश्वकर्मा,, सिमाना के.सी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली रहेका थिए ।
टोलीको प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिशा लामिछाने रहेका थिइन् ।
