क्विन्स गोर्खा सिग्नलले जित्यो ‘पिपल नेपाल कप टि–२० क्रिकेट’को उपाधि

पोखरा स्पोर्टस । पोखरेली मंच युकेद्वारा आयोजित छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि क्विन्स गोर्खा सिग्नलले जितेको छ ।

यूकेमा आइतबार भएको फाइनलमा आफ्नो चिर परिचित प्रतिद्वन्दी हिमालयन क्रिकेट क्लवलाई झिनो ३ रनको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । गत वर्षको उपाधि विजेता समेत रहेको हिमालयनलाई क्विइन्सले ११८ रनको लक्ष्य दिए पनि हिमालयन ११४ रनमा मात्रै बनाउन सक्यो । पराजय संगै हिमालयनले उपाधि समेत गुमाउन पुग्यो ।

उपाधि संगै टिम क्विन्स गोर्खा सिग्नलले नगद १५ सय पाउण्डका साथमा रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेता हिमालयनले नगद ७ सय पाउण्डका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष करम गुरुङले जानकारी दिएका छन् ।

यस अघि पारीको सुरुवात गर्दै क्विन्सले पुरै २० ओभर खेल्दै ओपनर व्याटर अमोलको ३० र लक्ष्मण थापाको २४ रनको योगदानमा ५ विकेटको क्षतीमा ११८ रन बनाउन सफल भएको थियो । यता ११८ रनको लक्ष्य पछ्याएको हिमालयन भने ११४ रनमा समेटिन पुग्यो । हिमलायनलाई धराशयी बनाउन आफ्नो ४ ओभरको स्पेलमा महत्वपुर्ण ३ विकेट हात पार्दा राजाले हिमालयनका दुई खेलाडीलाई पेभिलियन फर्काए ।

रेडिङस्थित रेडिङ क्रिकेट क्लबमा सम्पन्न प्रतियोगितामा हिमालयनका मनोज गुरुड्ग उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु १ सय ५० पाउण्डका साथमा ट्रफी हात पारे । त्यस्तै हिमालयनकै विकास गुरुड्ग वेष्ट बलर तथा वेष्ट ब्याट्स्म्यान नवयुवा क्रिकेट क्लबका सचिन शर्मा हुन सफल भएका छन् । उनीहरुले जनही नगद १ सय २० पाउण्डका साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । जसमा हिमालयन क्रिकेट क्लब, नयाँ यूवा क्रिकेट क्लब, क्विन्स गोर्खा सिग्न्लस क्रिकेट क्लब, नेप्लिज ओरियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लवले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई रेडिङ बोरो काउन्सिलका मेयर टोनी पेज मंचका संस्थापक अध्यक्ष क्या. सीबी पुन, प्रमुख सल्लाहकार एवम पुर्व अध्यक्ष मान प्रसाद गुरुड्ग, सल्लाहकार शेरा गुरुड्गएनआरएन युके अध्यक्ष सुनिल बाबु खड्काले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

बेलायतमा छरिएर रहेका पोखरेलीहरुको साझा संस्थाको रुपमा परिचित पोखरेली मञ्च यूकेले हरेक वर्ष नेपाली यूवाहरुलाई खेल प्रति अभिरुची जगाउन प्रशियोगिता आयोजना गर्दै आएको संस्थाका अध्यक्ष करम गुरुङले बताए । उनले भने–“नेपाली यूवाहरूलाई खेलकुद प्रति आकर्षण जगाउन, अनुशासित, शारिरिक र मानसिकरुपमा समेत उनीहरुलाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ ।”

समापन कार्यक्रममा रेडिड्ग बरो काउन्सीलका काउन्सिलर अमजद तरार, मेयर स्कट माईकल हारपर, रसमोर बरो काउन्सीलका काउन्सीलर धन बहादुर सार्की, तमुधि युकेका अध्यक्ष हरि गुरुङ , बरिष्ठ उपाघ्यक्ष जुमकाजी गुरुड, पुर्व अध्यक्ष हितकाजी गुरुङ, सहारा युकेका अध्यक्ष कुसाड गुरुङ, रेडिड्ग नेपाली समाजका अध्यक्ष भिमसेन खड्का, बगर भाईखलक युकेका अध्यक्ष डिलरास गुरुङ, तमु समाज युकेका अध्यक्ष शीव कुमार गुरुङ, राम बजार सोसाईटी युकेका अध्यक्ष बल थापा, पोखरेली मंच युकेको संस्थापक उपाध्यक्ष नन्द कुमारी गुरुङ, सल्लाहाकार नरजंग गुरुङ, रेडिड्ग तमु समाजका प्रतिनिधी प्रकाश सींह गुरुङ लगायतको सहभागिता रहेको थियो ।

पिपल नेपाल मोर्गेजका निर्देशक सूर्य गुरुङको मुख्य प्रायोजन तथा ग्रेटर रेडिङ नेप्लिज क्म्युनिटी एसोसियसनको सहयोगमा सम्पन्न भयको उक्त प्रतियोगिताको संयोजकमा मञ्चका उपाध्यक्ष पवित्र गुरुङ रहेका थिए भने टिम संयोजकमा विनय पुन, प्रकाश गुरुङ र भिम महेन्द्र गुरुङ रहेका थिए।

गत २५ जुनमा सुरु गरिएको प्रतियोगिता रेडिङस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्कि क्लब,सोनिङ लेन गरी तिन ठाउँमा आयोजना भएको थियो । उक्त प्रतियोगिताको उदघाटन नेपाली राजदुताबासका द्वितिय सचिव रामबाबु नेपाल र एनआरएन युकेका अध्यक्ष प्रेम गाहा मगरले संयुक्त रुपमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close