प्रदेश खेलकुद परिषद गण्डकीले पहिलो पटक रग्बी सेभेन्स आयोजना गर्ने

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा पहिलो पटक रग्बी सेभेन्स प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गण्डकी प्रदेशमा रग्बी खेलको विकास, प्रवर्द्धन एवं खेलाडी उत्पादनका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको परिषदले जनाएको हो । प्रतियोगिता यहि असार १६ गते शनिबारका दिन आयोजना हुनेछ । 

पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा कास्कीका दुई पुरुष टिमसहित नवलपुर, तनहुँ र स्याङजा जिल्लाको गरी ६ टिमको सहभागिता हुने प्रतियोगिताका संयोजक सुवास खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

साथै प्रतियोगितामा दुई महिला टिमको समेत सहभागिता हुनेछ । पहिलो पटक आयोजना हुने उक्त प्रदेशस्तरिय प्रतियोगिताका लागि कूल ३० हजार पुरस्कार राशी छुट्टाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न कुल ४ लाख खर्च हुने छ । जसमध्ये २ लाख परिषदले वार्षिक कार्यक्रम अनुसार खर्च गर्नेछ भने २ लाख नगद विभिन्न सहयोगी संस्थाहरुबाट संकलन गरिने भएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न खड्काको संयोजकत्वमा तिन सदस्यिय आयोजक समिति गठन गरिएको छ । समितिको सदस्यमा परिषदका सदस्यद्वय केशव पाठक र खगेन्द्र क्षेत्री रहेका छन् । क्षेत्री गण्डकी प्रदेश रग्बी संघका पूर्व अध्यक्ष हुन भने पाठक खेलपत्रकार समेत् हुन् ।

फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close