
पोखरा स्पोर्टस । तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० बुधबार देखि ललितपुरस्थित नखिपोट ब्याडमिन्टन सर्कलमा सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिनको पुरुष एकल तर्फको स्पर्धामा त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका बिजित थापा मगरले बिजयी सुरुवात गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । पविनले बि.वाई.सी.का अरुण अधिकारीलाई २१–१५, २१–१७ ले र बिजितले रुपन्देहीका प्यार जंग थापालाई २१–५, २१–९ ले पराजित गरे ।
यस्तै अन्य स्पर्धामा एपिएफका सुजन थापाले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका सुजल श्रेष्ठलाई २१–६, २१–४, सेनाका हिमाल चन्दले काभ्रेका अंकित भोछेभ्वयलाई २१–९, २१–११, एपिएफका शिषिर रानाले देवीनगर ब्याडमिन्टनका रिसव राईलाई १६–२१, २१–१७, २१–१३, एपिएफका देवराज रानाले धादिङ्गका मोहन गुरुङ्गलाई पाखा लगाए ।
यस अघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले उद्घाटन गरेका छन् । मन्त्री लिम्बुले खेलकुदलाई पर्यटन संग जोड्नु पर्ने भन्दै खेलकुदको माध्ययमबाट राज्यको आर्थिक स्तर उकास्ने कार्यमा सवै लाग्नु पर्ने बताए ।
खेलकुदमा निजि क्षेत्रलाई आकर्षित गर्नु पर्ने भन्दै खेललाई राजनीतिबाट पर राखेर खेल र खेलाडीको विकास गर्नु पर्ने बताउँदै ग्रासरुटबाट खेलाडी उत्पादनमा लाग्नु पर्ने र राज्यको सम्पूर्ण क्षेत्रमा युवाहरु पकड हुनु पर्ने जसका कारण देशको चौतफी विकास हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । खेलाडीको आर्थिक स्तर बृद्धिका लागि स्वरोजगार कार्यक्रम मार्फत मद्धत पुग्ने उनको भनाई थियो ।
