छैटौँ टाइगर कपमा गण्डकी भलिबल संघद्वारा ७ लाख ५४ हजारभन्दा बढी बचत

पोखरा स्पोर्ट्स । पोखराको रङ्गशालामा २०८२ माघ ९ देखि १७ गतेसम्म सम्पन्न छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी गण्डकी प्रदेश भलिबल संघको पुरुष टोलीले उपाधि जित्दै ऐतिहासिक सफलता हासिल मात्रै गरेन, खेल मैदानमा उत्कृष्ट प्रदर्शनसँगै संघले आर्थिक रूपमा समेत उल्लेखनीय उपलब्धि हासिल गर्दै ७ लाख ५४ हजारभन्दा बढी रकम बचत गर्न सफल भएको छ ।

गण्डकी प्रदेश भलिबल संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताबाट उक्त रकम बचत भएको जानकारी दिएको हो । गण्डकी प्रदेशको गौरवशाली भलिबल इतिहासलाई निरन्तरता दिने तथा स्वदेश तथा विदेशमा रहेका समर्थक, शुभेच्छुक र शुभचिन्तकहरूको विश्वास र अपेक्षालाई सम्मान गर्ने उद्देश्यसहित संघले आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक पारदर्शितालाई थप सुदृढ बनाएको जनाएको छ ।

संघका अनुसार प्रतियोगिताको क्रममा कुल २६ लाख २५ हजार ३ रुपैयाँ आर्थिक संकलन भएको छ । यसमा उपाधि विजेता टोलीले प्राप्त गरेको पुरस्कार रकमसमेत समावेश रहेको संघले स्पष्ट पारेको छ ।

त्यसैगरी प्रतियोगितासम्बन्धी सम्पूर्ण तयारी, व्यवस्थापन तथा सहभागिताका लागि १८ लाख ७० हजार ९५५ रुपैयाँ खर्च भएको जनाइएको छ । सबै खर्च कटौतीपछि संघले ७ लाख ५४ हजार ४८ रुपैयाँ बचत गर्न सफल भएको हो, जुन हालसम्म संघले कुनै पनि प्रतियोगितामा सहभागिता जनाउँदा हासिल गरेको सबैभन्दा ठूलो बचत रकम हो । उक्त सहयोग रकम स्वदेश तथा विदेशबाट गरी कुल १०३ जनाबाट प्राप्त भएको संघले जनाएको छ ।

आर्थिक संकलन समितिका संयोजक एवं संघका सदस्य रविनकुमार केसी तथा संघका कोषाध्यक्ष टुकबहादुर गुरुङले संयुक्त रूपमा आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक, नैतिक तथा भौतिक रूपमा निरन्तर सहयोग गर्ने सम्पूर्ण दाता, समर्थक, शुभेच्छुक र शुभचिन्तकप्रति गण्डकी प्रदेश भलिबल संघ परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् । “स्वदेश तथा विदेशबाट गण्डकी टोलीप्रति देखाइएको माया, विश्वास र सहयोगप्रति संघ सदैव कृतज्ञ छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अनुसार यस किसिमको पारदर्शी आर्थिक व्यवस्थापनले संस्थाप्रतिको विश्वास अझ मजबुत बनाउनेछ भने आगामी दिनमा गण्डकी प्रदेशको भलिबल विकास, खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close