
पोखरा स्पोर्टस । पोखरा महानगरपालिकाले खेलाडीको क्षमता विकासमा ध्यान केन्द्रित गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा पोखरा महानगर पालिकाले सो कुरालाई जोड दिएको हो । महानगरपालिकाका मेयर धनराज आचार्यले निति तथा कार्यक्रम आइतबार प्रस्तुत गर्दै खेल क्षेत्रको सुदृढिकरण, खेलाडीहरुको क्षमता विकास र खेलपूर्वाद्धारको विकासमा ध्यान केन्दित गर्ने बताएका हुन् ।
त्यसै गरी पोखरा महानगरलाई खेलकुद शहरको रुपमा विकास गर्न सहासिक खेलकुद गतिविधिमा ध्यान दिइने जनाउँदै खेलकुदको माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटनमा समेत जोड दिइने जनाइएको छ । पोखरा महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीहरुको अभिलेखीकरण संगै प्रोत्सहान समेत गरिने जनाएको छ ।
निति तथा कार्यक्रममा पोखरामा आयोजना हुने प्रदेशस्तरिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहकार्य गर्दै अघि बढ्ने संगै अपाङ्गता भएका व्यक्ति, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक केन्द्रित खेलकुद गतिविधि अघि बढाउने मेयर आचार्यले उल्लेख गरेका छन् ।
बालबालिकाको खेलकुद आधार तयार गर्न विद्यालयस्तरिय प्रतियोगिताहरु सञ्चालनमा जोड दिइने निति तथा कार्यक्रममा जनाइएको छ भने मेयर कप प्रतियोगिताको आयोजना लाई समेत निरन्तरता दिइने भनिएको छ ।
