
पोखरा स्पोर्टस । कास्कीले गण्डकी प्रदेशस्तरिय पुरुष ह्याण्डबलको उपाधि जितेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला ह्याण्डबल संघको ब्यवस्थापनमा शनिबार सम्पन्न फाइनलमा स्याङजालाई २८–१४ गोलले पराजित गर्दै उपाधि जितेको हो । उक्त खेलमा कास्कीका चन्द्र केसी एक्लैले १० गोल गरे ।

उपाधि संगै कास्कीले नगद नगद रु २५ हजार र उपविजेता टिम स्याङजाले नगद रु १५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भलाई समेत जोडेर सम्पन्न प्रतियोगितामा स्याङजाका पवन छन्त्याल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यसै गरी स्याङजाका सविन गुुरुङ उत्कृष्ट गोलरक्षक हुँदा सर्वाधिक गोलकर्ताको उपाधि कास्कीका चन्द्र केसीले प्राप्त गरे । चन्द्रले प्रतियोगितामा कुल २२ गोल गरेका थिए । उनीहरुले ट्रफीका साथमा जनही नगद ५÷५ हात पारे ।
प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष एवं पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी धोज कुमार गुरुङ, पूर्व उपाध्यक्ष रत्नमान गुरुङ, नेपाल ह्याण्डबलका केन्द्रिय सचिव केशव पाठक, केन्द्रिय सदस्य राम गुरुङ, प्रतियोगिताकी संयोजक पुष्पा श्रेष्ठ, कास्की ह्याण्डबलका पूर्व अध्यक्ष क्या.जग बहादुर गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ लगायतले नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यसै गरी कार्यक्रममा एनओसीका उपाध्यक्ष गुरुङले विजेता टिमका खेलाडी, उत्कृष्ट खेलाडी एवं अफिसियलहरुलाई ओलम्पिक लोगो अंकित प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुदका उपाध्यक्ष गुरुङ परिषदले वार्षिक कार्यक्रम अनुसार यस प्रकारका प्रतियोगिताहरु आयोजना गरिएको बताउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत यस प्रकारका प्रतियोगिताले सहयोग गर्ने बताए । उनले आगामी वर्षहरुमा समेत यस प्रकारका प्रतियोगिताहरु आयोजना गर्दै जाने उल्लेख गरे ।
कार्यक्रम कास्की ह्याण्डबल संघका कार्यबहाक अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा पाच जिल्लाको सहभागिता रहेको थियो ।
