
पोखरा स्पोर्टस । पोखरामा सुरु भएको चिनियाँ परम्परागत ड्रागन बोट रेस प्रतियोगिताको पहिलो दिन ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन् ।
प्रतियोगितामा शुक्रबार भएको दुई चरणको प्रतिस्प्रर्धाबाट नेपाली २ र चिनियाँ २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन् । प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच प्रतिस्पर्धा भएको थियो
प्रतियोगितामा चिनको सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह र नेपालको नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रबेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले जानकारी दिए ।
सम्पन्न २ सय र ५ सय मिटरको दुई/दुई चरणको प्रतिष्प्रर्धा भए पनि दुबै तर्फको विधामा ४ टोली नै छनौट भएको मगरले बताए । २०० मिटरमा सिचुवाङले १ मिनेट ४८ सेकेण्ड र ५०० मिटरमा भने ४ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै फाइनल चरणमा यात्रा बनाएको हो । त्यसै गरी नारा टिमले २०० मिटरको दुरी १ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो भने ४ मिनेट ४७ सेकेण्डमा ५०० मिटरको दुरी पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गरेको हो ।
चिनको यूनानी टोलीले २०० मिटरको दुरी १ मिनेट ५५ सेकेण्डमा र ५०० मिटरको दुरी भने ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणा यात्रा पक्का गरेको छ । एनआरसीएले २०० मिटरको दुरी १ मिनेट ५६ सेकेण्डमा र ५०० मिटरको दुरी ५ मिनेट २ सेकेण्डमा पुरा गरी फाइनल चरणमा प्रबेश गरेको थियो ।
प्रतियोगिताबाट चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जि.एस.ड्रागन समुह र फेवा डुंगा व्यवसायी संघको टिम पहिलो दिनको प्रतिष्प्रर्धाबाट बाहिरिएका छन् ।
प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ ।
यस अघि पोखरामा सुरु भएको उक्त फेष्टिभलको नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपाल स्थित चाइनिज राजदुत चेन सोङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
नेपालको खेलकुद इतिहासमा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
