खेलकुदको बहुआमयिक कार्यक्रम : भलिबलको ‘ट्यालेन्ट हन्ट’ पोखरामा सुरू

पोखरा स्पोर्टस । खेलकुदको बहुआमयिक कार्यक्रम ‘ट्यालेन्ट हन्ट’ पोखरामा सुरू भएको छ । उक्त कार्यक्रम गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ बढाइएको हो । परिषदले गत वर्ष उक्त कार्यक्रममार्फत एथलेटिक्सतर्फको ट्यालेन्ट हन्ट कार्यक्रम गरेको थियो । कुनै बेला महिला भलिबलमा एकछत्र राज गरेको गण्डकीको साख फर्काउन ट्यालेन्ट हन्टले सहयोग पुग्ने कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले बताए ।

‘यो मात्रै होइन हामीले पहिलो चरणमा शैद्धान्तिक र व्यवहारिक ज्ञान दिने छौं’–क्षेत्रीले भने–‘हामीले उनीहरुलाई भलिबल खेल संगै निशुल्क आवाशसहित र अध्ययन–अध्यापन प्रदान गर्ने सहितको कार्यक्रम अघि सारेका छौं ।’

यो गण्डकी प्रदेश खेलकुद विकासका लागि बहुआमयिक पाटो रहेको बताउँदै उनले प्रदेश सरकारले प्रमुखताका साथ अघि सारेको ‘खेल्छ गण्डकी’ कार्यक्रम र ‘ट्यालेन्ट हन्ट’ले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग रहने बताए । ‘यि दुबै कार्यक्रम गण्डकी प्रदेशको मात्रै नभई नेपाली खेलकुदको जगलाई बलियो बनाउने कोशेढुङ्गा नै हुन्’ उनले थपे–‘हामी महिला भलिबल मात्रै नभई आर्थिक वर्ष २०८०/०८१ बाट थप खेलहरुलाई संग–संगै लिएर अघि बढ्ने छौं ।’

ट्यालेन्ट हन्टमा गण्डकी प्रदेशका १० जिल्लाका ३४ जना छात्राहरुको सहभागिता रहेको छ । हालै सम्पन्न २०७९ को एसइई परिक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरी उनीहरुलाई पहिलो चरणमा १० दिने बन्द प्रशिक्षणमा राखिने छ । सहभागि ३४ मध्ये १८ जना छनौट गरीनेछ भने अन्तिम चरणमा १२ जना छनौट गरी उनीहरुलाई निशुल्क आवाशसहित र अध्ययन अध्यापन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सोमबारबाट सुरु भएको उक्त कार्यक्रमको प्रदेश सभा सदस्य प्रकाश बरालले शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै सांसद बरालले प्रदेश खेलकुदको विकासका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै आर्थिक मन्दीका कारण सोचे अनुरुप खेलकुदको बजेट आउन नसकेको उल्लेख गरे । उनले भने–‘प्रदेश सरकारले खेल्छ गण्डकी र ट्यालेन्ट हन्ट जस्ता कार्यक्रमलाई महत्व दिएर अघि बढेकाले पनि यसले परिणाम दिनेमा म  विश्वस्त छु ।’

खेलाडीहरुले रगत र पसिना बगाएर आफ्नो योगदान दिने भएकोले पनि उनीहरु सम्मानित हुनुपर्ने बताउँदै प्रदेश सरकारले ओलम्यिनहरुलाई सम्मान गर्दै प्रोत्सहान रकम दिने भएकोले पनि यसले खेल विकासका लागि ठूलो महत्व राख्ने बताए । गण्डकी प्रदेशमा योगदान दिएका धेरै व्यक्तित्वहरु भएकोले पनि आफू खेलकुद विकासले अझै गतिलिने बताए । उनले यूवा खेलाडीहरुलाई अनुशासनमा बस्न र कुनै गलतकार्यमा नलाग्न उनले बताए ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरुङ, सो कार्यक्रमका सहजकर्ता राजन पौडेललगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close