
पोखरा स्पोर्टस । आसन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि बक्सिङ्गको अन्तिम छनौट सम्पन्न भएको छ ।
सम्पन्न छनौटमा महिलातर्फ ६ र पुरुषतर्फ ७ गरी १३ जना छनौट भएको नेपाल बक्सिङ्ग संघले जनाएको हो । छनौट हुनेमा सुस्मा तामाङ्ग, मीनु गुरुङ्ग, संगिता सुनार, विनिता थापा मगर, सरस्वति र चन्द्रकला थापा रहेका छन भने पुरुषतर्फ रविन थापा, बुद्ध ग्याम्जो लामा, भूपेन्द्र थापा मगर, दिपेश लामा, दिपक श्रेष्ठ, आशिस दवाडी र गण्डकीका दिपक सुनवार रहेका छन् ।
छनौट हुनेमा फ्लाई वैट ५० किलो महिला तौल समुहअन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२को आधारमा पराजित गर्दै छनौट हुन सफल भइन् ।
त्यस्तै ५४ किलो तौल समुह महिलातर्फ आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गर्दै छनौट भइन् भने महिला ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५ः० को आधारमा पराजित गरिन् ।
६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । महिला ७५ केजीमा एपीएफकी सरस्वतिले एपीएफकी मनिता राईलाई पराजित गरिन् ।
त्यस्तै पुरुषतर्फ ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गर्दा पुरुषतर्फ ५७ किलो तौल समुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरे ।
पुरुष ६३.५ किलो तौल समुहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरे । भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन् ।
यसैगरी पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरे । पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे ।
पुरुष ९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरे । ९२ प्लस किलो तौल समुहमा आर्मीका आशिस दवाडी छनोट भए ।
