
पोखरा स्पोर्टस । संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बुले संघियता अनुसार खेल संरचना परिमार्जन गर्न निर्देशन दिएका छन् ।
पोखरा रङ्गशालामा शनिबार देखी सुरु भएको तेस्रो प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै उनले उक्त निर्देशन दिएका हुन् । देश संघियतामा गएको ५ बर्ष वितिसक्दा पनि अझै पुरानै संरचनाको नामबाट काम गर्न नहुने बताउदै त्यसलाई परिमार्जन गर्न उनले निर्देशन दिए ।
पोखरामा अझै पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिति भनेर त्यसको बोर्ड त्यही संरचनामा काम गर्नू निकै हाँस्यास्पद भएको मन्त्री लिम्बुले बताए । यस्ता पुराना संरचना परिवर्तनको लागि मन्त्रालयको मात्र मुख ताक्नु भन्दा आफैबाट सुरु गर्नुपर्ने उनको भनाई थियो ।
नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीहरुको भविश्य सुनिश्चित पार्ने कानून ल्याउने तयारी सरकारले गरिरहेको मन्त्री लिम्बुले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्यि प्रतियोगिताहरुमा सहभागी भएर देशको नाम राख्ने खेलाडीहरुको खेल पछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उनको भनाई थियो ।
नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रको समेत साथ आवश्यक रहेको बताउँर्दै उनले खेलकुदमा नीजि क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकहरुलाई समेत सम्मानित हुने वातावरण सरकारले बनाउने बताए ।
खेलकुदका संरचनाहरुलाई सङ्घीयता अनुसार विकास गरिने उल्लेख गदै मन्त्री लिम्वुले भने–“देशमा सङ्घीय शासन व्यवस्था सुरु भएको पाँच वर्ष पूरा भइसकेको छ । अब पनि पूरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन गर्नु आवश्यक छ ।”
प्रदेश र जिल्लाका विगतका खेलकुदका कार्यालय तथा संरचनाहरुलाई संघीयताअनुसार परिर्वतन गर्नुपर्नेमा मन्त्री लिम्बुले जोड दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाका तीन सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले जानकारी दिएका छन् ।
प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकीका उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगरले बताए ।
खेलाडीहरुबीच एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ । जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ ।
यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण बिजेता खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम छ । उद्घाटनको अवसरमा खेलाडीहरुले डेमो समेत प्रर्दशन गरेका थिए ।
उद्घाटन कार्यक्रम प्रदेश आइटिएफ तेक्वान्दो अध्यक्ष घम बहादुर थापाको अध्यक्षतामा भएको थियो ।
