
पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न प्रथम प्रदेशस्तरिय राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा गण्डकी प्रदेशले ३ स्वर्ण पदक हात पारेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा गण्डकीले दोश्रो दिन ३ स्वर्ण र १ रजत पदक हात पारेको हो । पहिलो दिन गण्डकीले २ काश्य पदक हात पारेको थियो ।

प्रतियोगिताको दोश्रो दिन सम्पन्न १०२ केजी तौल माथीको प्रतिस्पर्धामा गण्डकीका सुदिप कुमार गुरुङले १६० केजी भार बहन उचाल्दै स्वर्ण पदक हात पारे ।
त्यसै गरी १०२ केजी तौल मुनीतर्फ मधेश प्रदेशका सञ्जय यादवले स्न्याचतर्फ ९५ र क्लिन एण्ड जर्कतर्फ ११५ गरी कुल २१० केजी भार बहन उचाल्दै स्वर्ण पदक जित्दा गण्डकीका कुशल गुरुङले कुल २०० केजी भारबहन उचाल्दै रजत पदक, तथा सुदुर पश्चिमका अभिषेक विष्टले काश्य पदक जिते ।
यसै गरी महिला ८१ केजी तौल माथी गण्डकीकी सिन्जल गुरुङले स्वर्ण पदक जितिन् । सोही तौल समुहको स्पर्धामा सुदुर पश्चिमकी चम्पा कुमारी ठकुल्लाले रजत पदक जितिन् । महिलातर्फ नै ८१ केजी तौलमा भएको प्रतिस्पर्धामा सरस्वती गुरुङले स्वर्ण, सुपकी सोनाम चौधरीले रजत र बागमतीकी अमृता विकले काश्य पदक हात पारे ।
विजेता खेलाडीहरुलाई संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री लिम्बुले खेलाडीहरुको संरक्षण तथा वृति विकासका लागि मन्त्रालयले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताए । उनले सरकारले मात्रै यस्ता प्रतियोगिताहरु आयोजना गर्न नसक्ने हुँदा निजि क्षेत्रबाट समेतको सहभागिता र नागारिक समाजको समेत मन जित्ने गरी अघि बढ्नु पर्ने उल्लेख गरे । खेलाडी नै नेपालको राष्ट्रिय गौरव बढाउने भएको र नेपालीहरुले खेलको माध्यमबाटै कुनै पनि देश विरुद्धको यूद्ध जित्न सक्ने बताउँदै उनले खेलाडीहरुलाई म जित्न सक्छु भन्ने भावनाका साथ आफ्नो उच्च प्रदर्शन गनुपर्ने उनको भनाई थियो ।
प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला तर्फ ३५ जना र पुरुषतर्फ ३५ जना गरी ७० जना खेलाडीको सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
