
पोखरा स्पोर्टस । पाँचौ सस्करणको न्यू ग्यालेक्सी एसइई छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको छात्रतर्फको उपाधि म्याग्दीले जितेको छ ।
ओलम्पिक डे २०२३ को अवसरमा आयोजित विद्यालयको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा कोट गाउँलाई ६०–५२ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि संगै म्याग्दीले नगद १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कोट गाउँले नगद ८ हजारमा चित्त बुझाएको छ ।
महिलातर्फ भने विएमजी छात्रा टिमले आरएसटीलाई २९–२३ ले पराजित गरेको छ । उनीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
गत बुधबारबाट सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ म्याग्दीका सुन्दर गर्वुजा उत्कृष्ट खेलाडी हुन सफल भएभने छात्रातर्फ आरएसटीकी पुर्णिमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन् ।
प्रतियोगिताको हाइस्कोररमा बिएमजीकी स्वेच्छा थापा र छात्रतर्फ कोट गाउँका केशव शेरपुञ्जा घोषित भए । उत्कृष्ट हुने सबै खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष तथा कास्की बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य योगेन्द्र गुरुङ, विद्यालयका प्रिन्सिपल डा.रामजी शर्मा, स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, गण्डकी स्पोर्टसका अध्यक्ष उमेश सिकेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम विद्यालयकी संस्थापक अध्यक्ष लक्ष्मी मायाँ कायस्थको अध्यक्षतामा भएको थियो ।
लिग कम नकआउटका आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका २ टिम गरि छात्र तर्फ १० र छात्रातर्फ २ गरी कुल १२ टिमको सहभागिता रहेको विद्यालयका खेल संयोजक क्या। विरबहादुर गुरुङले जानकारी दिए ।
पोखरा ३ नदिपुरमा स्थापित न्यू ग्यालेक्सी मावीमा नर्सरी देखि कक्षा १२ सम्म १ हजार भन्दा वढि विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा प्लस टु तर्फ होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, साइन्स र कम्पुयुटर साइन्स विषयहरुमा अध्यापन हुँदै आएको छ ।
