किर्गिस्तान जाने नेपाली राष्ट्रिय भलिबल टोलीको बिदाई

पोखरा स्पोर्टस । किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई बिदाई गरिएको छ ।

खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरेका हुन् ।

विदाई कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यको लगानी भए अनुरुप खेलाडीको काँधमा जितको बोझ थपिएको बताए । उनले यो प्रतियोगिता प्रतियोगितामा मात्र नभई एसियन गेम्सका लागी तयारी प्रतियोगिता समेत रहेको बताए । उनले राज्यको लगानीलाई खेलाडीहरुले आत्मसाथ गर्दै विजयी भएर स्वदेश फर्कनेमा आफु आशावादी रहेको बताए ।

टोली भोली किर्गिस्तान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संघका कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, दुर्गा बहादुर खड्का, सफल बिश्वकर्मा, हरी बहादुर अधिकारी, राजेन्द्र बिष्ट र हरी हजुर थापा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।

सदस्य सचिवलाई सम्मान पत्र
विदाई कार्यक्रमकाविच नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गलाई कदर पत्रले सम्मान गरेको छ ।काठमाण्डौमा हालै सम्पन्न एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ लाई सफल पार्न पु¥याएको सहयोगको कदर गर्दै संघले सदस्य सचिव घिसिङ्गलाई सम्मान गरेको हो ।

दावा शेर्पा सम्मानित
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल प्रादेशिक भलिबल रेफ्रि दावा शेर्पालाई पनि नेपाल भलिबल संघले विदाई कार्यक्रमका विच सम्मान गरेको छ । सोलुखुम्बु निवासी शेर्पाले नेपाल भलिबल संघ र भलिबलको अन्तर्राष्ट्रिय संस्था एआईभिबीको झण्डा लिएर बिश्वको सर्वोच्च शिखरको आरोहण पुरा गरेका थिए । नेपालको राष्ट्रिय खेल भलिबललाई बिश्वको शिखरमा पुर्‍याउन सफल भएको र भलिबलको अन्तर्राष्ट्रिय संस्थालाई बिश्व शिखरमा पुर्‍याएको भन्दै शेर्पालाई संघले सम्मान पत्रले सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close