
पोखरा स्पोर्टस । पोखरामा प्रथम प्रदेशस्तरिय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला भारोत्तोलन संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिंदै कास्की भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले प्रतियोगिता सातै प्रदेशका ७० जना खेलाडीहरु पोखरा आइपुगेको जानकारी पोखरा स्पोर्टसलाई दिएका छन् ।

पोखरा रंगशालास्थित टेबल टेनिस हलमा आयोजना हुने प्रतियोगितामा महिला ४९, ५९, ७१, ८१ केजी तौल मुनी र माथी प्रतिष्पर्धा हुने छ भने पुरुषतर्फ ६१, ७३, ८९, १०२ केजी तौल मुनी र माथी प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा कोशी प्रदेश मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्विनी र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले सहभागिता जनाएका छन् । हरेक तौल समुहमा प्रदेश–प्रदेशका खेलाडीहरु भिड्ने छन् ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शुक्रबार गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गर्ने कार्यक्रम तय भएको अध्यक्ष बडगामीले जानकारी दिए ।
