प्रदेशस्तरिय ५ दिने बास्केटबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

खेलाडीले पदक जित्न उ भित्र पागलपन जन्मिनु पर्छ–सदस्य सचिव शर्मा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय ५ दिने बास्केटबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला बास्केटबल संघको आयोजना उक्त कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलाडी भित्र पागलपन आएमा मात्र उसले खेल जिवन सफलता हासिल गर्ने बताए । उनले भने–“जवसम्म खेलाडीलाई मैदान भित्र पागलपन आउँदैन तव सम्म उसले खेल जित्न सक्दैन,” उनले थपे–“आफू एकचित्त भएर खेलमा लाग्न सकोस र उसले कसैको कुरा पनि नसुनोस ।”

प्रदेश खेलकुद परिषदले खेलकुदको बिकासका लागि चरणवद्ध रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको उल्लेख गर्दै सदस्य सचिव शर्माले खेलकुदमा संघियता नआउँदा थप समस्या आएको बताए । उनले भने–“खेलकुद यति बेला संघियताको मर्म विपरित अघि बढेको छ । यो सम्पूर्णको जिम्मेवार राष्ट्रिय खेलकुद परिषद नै हो ।” राखेपका सदस्य सचिवले परिषदको बोर्ड बैठकले गरेका निर्णयहरु समेत कार्यान्वयन नगर्दा झनै वढि समस्या आएको बताउँदै यस्ता कानुन विपरित विरुद्ध हुने तथा साझा अधिकारका विषयमा सबैको एकता आवश्यक रहेको उनले औंल्याए ।

आफूले पाँच दिन सम्म सिकेको शिपलाई टोल–टोल र गाउँ–गाउँ सम्म पुर्‍याउन प्रशिक्षकहरुको भूमिका रहेको बताउँदै सदस्य सचिव शर्माले खेलकुद पूर्वाद्धार निर्माण संगै खेलकुद गतिविधि अघि बढाउन परिषदले कार्यक्रमहरु तय गर्ने बताए ।

परिषदका उपाध्यक्ष एवम बास्केटबल संघ कास्कीका अध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली बास्केटबल खेलका प्रमुख प्रशिक्षक एवं प्रशिक्षक प्रशिक्षणका सहजकर्ता दिनेश चन्द्र नकर्मीले खेलकुदमा जित र हार भन्दा पनि आफूले सिकेको शिपलाई खेलकुद विकासमा कसरी अघि बढाउन सकिन्छ त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले प्रशिक्षकहरुले खेलाडीहरुलाई ‘लाइफस्किल’ र ‘लिडरशिप’को भावना अनुरुप ज्ञान बाड्न सके त्यसको प्रतिफल संगै उद्धेश्य प्राप्तीमा सहजता हुने उल्लेख गरे ।

सो अवसरमा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङले आफूले सिकेको शिप व्यवहारमा उर्तान सके त्यसले नेपाली बास्केटबल खेल विकासका लागि थप उचाई प्राप्त गर्ने बताए ।

कार्यक्रममा कास्की बास्केटबल संघका कार्यसमिति सदस्य विष्णु गुरुङ, सहभागि प्रशिक्षक कुमार थापा लगायतले आफ्ना भनाई राखेका थिए ।

पाँच दिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कास्की, पर्वत, स्याङजा, बागलुङ, म्याग्दी लगायतका जिल्लाका २५ जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close