
पोखरा स्पोर्टस । पोखरामा पाँचौ सस्करणको न्यू ग्यालेक्सी एसइई महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
ओलम्पिक डे को सन्दर्भमा आयोजित उक्त प्रतियोगिताको नेपाल ओलम्पिक कमिटि स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले उदघाटन गरेका छन् । सो अवसरमा अध्यक्ष रानाभाटले ओलम्पिक डेको महत्व माथी प्रकाश पार्दै यस्तै प्रतियोगिताबाट नै ओलम्पिक पुग्ने लक्ष्य प्राप्त हुने बताए । उनले खेलकुदमा अनुशासनको महत्वलाई आत्मसाथ गर्नुपर्ने बताउँदै न्यू ग्यालेक्सीले गरेका कृयाकलापहरु सर्हानिय रहेको बताए ।

विद्यालयका प्राचार्य एवं गण्डकी हिसानका वरिष्ठ उपाध्यक्ष डा.रामजी शर्माले खेलकुदमा जित र पराजय भन्दा पनि आफूभित्र रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्न र सिक्न प्रतियोगिताले सहयोग पुर्याउने बताए । उनले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विगत ५ वर्ष देखि विद्यालयले सुरु गरेको यो प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत भूमिका खेलेको बताए ।
विद्यालयकी संस्थापक अध्यक्ष लक्ष्मी मायाँ कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक निर्देशक राजु कायस्थ, भाइस प्रिन्सिपल राजेश भण्डारीलगायतले आफ्ना भनाई राखेका थिए ।
विद्यालयको आफ्नै बास्केटबल कोर्टमा लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता असार १ गते सम्म हुने भएको विद्यालयका खेल संयोजक क्या.विर बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा म्याग्दी र पर्वतका २ टिम गरि छात्र तर्फ १० र छात्रातर्फ २ गरी कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि विजेतालाई नगद १५ हजार र उपविजेतालाई नगद ८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
पोखरा ३ नदिपुरमा स्थापित न्यू ग्यालेक्सी मावीमा नर्सरी देखि कक्षा १२ सम्म १ हजार भन्दा वढि विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा प्लस टु तर्फ होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, साइन्स र कम्पुयुटर साइन्स विषयहरुमा अध्यापन हुँदै आएको छ ।
विद्यालयले हालै एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै भलिबल प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ ।
