
पोखरा स्पोर्टस । गण्डकी प्रदेश फुटबल संघ गण्डकी प्रदेशको महासचिवमा बिनोद गुरुङ मनोनयन भए संगै योजनावद्ध रुपमा फुटबल विकासका लागि अघि बढ्ने बताएका छन् ।
संघको शनिबार गोर्खामा सम्पन्न दोश्रो अधिवेशन लगतै बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले उनलाई महासचिवको जिम्मेवारी सुम्पिएको हो । महासचिव गुरुङ अखिल नेपाल फुटबल महासंघ (एन्फा) अन्तर्गत गठित एन्फा फुटसलका समेत प्रमुख हुन् । विगत दुई वर्ष सोही पदमा कार्यरत उनलाई एन्फाले आगामी ४ वर्षका लागि पुनः सोही पदको जिम्मेवारी समेत् दिएको छ ।
नवनिर्वाचित कार्यसमितिले गण्डकी प्रदेशमा फुटबल विकासका लागि विभिन्न योजनाहरुका साथ अघि बढ्ने महासचिव गुरुङले पोखरा स्पोर्टसलाई बताएका छन् । उनले प्रदेशमा विशेष गरी ८–१२ वर्ष उमेर समुहको ग्रासरुट लेभल प्रशिक्षणलाई ११ वटै जिल्लामा सञ्चालन गर्ने तयारी समेत गर्ने बताए । “हाम्रो पहिलो फोकस यूवा खेलाडी उत्पादन हो भने अर्को तर्फ महिला र पुरुषतर्फको प्रदेश लिग गर्ने योजना समेत हो”–उनले भने–“यसका लागि सबैको सहयोग र सहकार्यको खाँचो छ । लिग खेलहरुले नै नयाँ खेलाडीको पहिचान र उत्पादनमा सहयोग पुग्छ ।”
पोखरा लेकसाईड फुटसल ऐरिनाका सञ्चालक र गार्डेन क्लव पोखराका अध्यक्ष समेत रहेका गुरुङले गण्डकी प्रदेशमा फुटबल र फुटसलको दुवै तर्फ प्रशिक्षक प्रशिक्षण कार्यक्रम र रेफ्रिहरुको उत्पादनका लागि समेत कार्यक्रमहरु तय गरिने बताए । उनले मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको निरन्तरता संगै प्रदेशको महिला फुटबल टिम समेत बनाउने गरी योजनाहरु अघि बढ्ने बताए । उनले भने–“अब प्रदेशमा नयाँ टिम आएको छ । हामी प्रदेशमा स्थगित रहेका प्रतियोगिता संगै नयाँ प्रतियोगिताहरु समेत आयोजना गर्ने गरी अघि बढ्ने छौं ।”
एन्फा फुटसल प्रमुख रहेका गुरुङले काठमाण्डौमा फुटसलको ‘बि’ डिभिजन लिग गर्ने संगै आगामी दिसेम्बरमा पोखरामा ‘ए’ डिभिजन लिग गर्ने योजना समेत रहेको खुलासा गरे ।
गोर्खामा सम्पन्न दोश्रो अधिवेशनले दिपेन्द्र श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, मानार्थ उपाध्यक्षमा जगत बहादुर थापा र महासचिवमा बिनोद गुरुङ छन् भने कोषाध्यक्षमा दिल कुमारी घिमिरे, तिन सहायक महासचिव पदमा सुमन गुरुङ, लक्ष्मण कार्की र प्रकाश रेग्मी तथा सहकोषाध्यक्षमा दिनेश केसी रहेका छन् ।
