
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।
अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।
वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार रहेको छ ।
सोही अन्तरगत वर्ष उत्कृष्ट खेलाडी (महिला)को विधामा फुटबलकी भण्डारीले अवार्ड जित्न सफल भइन् । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी लमजुङकी हुन् । उनीसँगै आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका थिए ।
मञ्च गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । खेलाडीलाई उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
