
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की फेन्सिङ संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकीले दुई स्वर्ण पदक सहित दोश्रो हुँदा एक स्वर्ण पदक जितेको एपीएफ तेश्रो भएको कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले जानकारी दिए ।

जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले बागमती प्रदेशका अक्षत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जिते । सोही इभेण्टमा कोशी प्रदेशका सन्देश चौधरी र सचिन खत्री (गण्डकी)ले कास्य पदक जित्न सफल भए ।
त्यस्तै महिला जुनियर ईपी तर्फको प्रतिस्पर्धामा बागमतीकी सोफिया चन्दले गण्डकीकी निश्चल पुलामी मगरलाई पराजित गर्दै स्वर्ण जित्दा कृपा गुरुङ (गण्डकी) र अश्मिता घिसिङ (बागमती)ले कास्य पदक जितेका छन् ।
सिनियर मेन्स फोयल तर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका सन्जीप लामाले स्वर्ण पदक जिते । उनले नेपाल आर्मीका नरेन्द्रसिंह धामीलाई पराजित गरे । सागर थापा (एपीएफ) र बीरसिंह शाही (आर्मी) भने तेस्रो स्थानमा चित्त बुझाए ।
सिनियर मेन्स टिम फोयल इभेण्टमा बागमतीले स्वर्ण, शसस्त्र प्रहरीबलले रजत जित्दा गण्डकी तथा नेपाल आर्मी क्लबले कास्य पदकमा खुम्चिए । जुनियर महिला टिम ईपी तर्फको प्रतिस्पर्धामा बागमतीले स्वर्ण, गण्डकीले रजत र कोशी प्रदेशले कास्य पदक जितेको छ ।
महिला सियिनर फोयल तर्फको व्यक्तिगत प्रतिस्पर्धामा बागमतीकै गोमा आचार्यले आर्मीकी मनिषा थापालाई पराजित गर्दै स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामा मनिषा राई (एपीएफ) र सुष्मिता तामाङ (आर्मी)ले कास्य पदकमा चित्त बुझाए ।
जुनियर मेन्स टिम ईपी तर्फ गण्डकीले बागमतीलाई पराजित गर्दै दोस्रो स्वर्ण पदक जितेको छ । गण्डकीले फाईनलमा बागमतीलाई ४५–३५ स्कोरले पराजित गर्दै स्वर्ण जित्न सफल भएको हो ।
सिनियर टिम महिला फोयल तर्फको प्रतिस्पर्धामा बागमतीलाई पराजित गर्दै एपीएफले एक मात्र स्वर्ण आफनो नाममा लेखायो । फाईनल प्रतिस्पर्धामा एपीएफले बागमतीलाई ४५–३१ स्कोरमा पराजित गरेको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा आयोजित प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, नेपाल फेन्सिङ संघकी उपाध्यक्ष हेल्गा राणा रायमाझी, महासचिव सुजनलाल श्रेष्ठ, प्रदेश खेलकुदका सदस्य केशव पाठक, खगेन्द्र क्षेत्री, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेललगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।
समापन कार्यक्रम कास्की फेन्सिङका अध्यक्ष विजय शाहीको अध्यक्षतामा भएको थियो ।
