
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय बास्केटबलको उपाधि म्याग्दीले जितेको छ ।
पोखरा रंगशाला बास्केटबल कोर्टमा शनिबार सम्पन्न फाइनल भिडन्तमा पर्वतलाई ८३–८० को स्कोरले पराजित गरी उपाधि जितेको हो । उपाधि जिते संगै म्याग्दीले नगद ६० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी उपविजेता टिम पर्वतले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको पहिलो क्वाटरमा २०–१७ पर्वतले अग्रता लिए पनि दोश्रो क्वाटरमा २१–१३ ले म्याग्दीले अग्रता कायम गर्न सफल भयो । तेश्रो क्वाटरमा २५–२२ ले पर्वत हावी हुँदा चौथो तथा अन्तिम क्वाटरमा पर्वत सम्हालिन सकेन । चौथो क्वाटरमा म्याग्दीले २३–२२ ले पर्वतलाई पाखा लगायो ।
प्रतियोगिता अन्तर्गत सेमीफाइनलका खेलहरु समेत शनिबार नै सम्पन्न भएका थिए । पर्वतले लम्जुङलाई ७१–५८ र म्याग्दीले कास्कीलाई ९१–८७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । दुई सेमीफाइनालिष्ट टिम कास्की र लम्जुङले जनही नगद १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्मा, प्रदेश खेलकुदकी सदस्य शुभकन्या गुरुङ, गण्डकी विश्वविद्यालयका उपप्रध्यापक डा.मधुसुदन सुवेदी, सोसल पल्लिक स्कुलका निर्देशक खिम गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस अघि फाइनल खेलको शुभारम्भ गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गरेकी थिइन् । सो अवसरमा उनले मन्त्रालयले खेलाडीहरुको हितमा हुने गरी कार्यक्रमहरु अघि बढाउने बताउँदै खेलाडीहरुलाई आफ्नो खेलमा लाग्न आग्रह गरिन् । उनले खेलकुदले नेपालको पहिचान दिने भएकोले अन्तर्राष्ट्रिय खेल मैदानमा पदक हासिल गर्न खेलाडीहरुले अझै मेहनतका साथ अघि बढ्नु पर्ने औल्याइन् ।
कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य विष्णु गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की बास्केटबल संघको व्यवस्थापनमा यहि जेठ २५ गतेबाट आयोजित उक्त प्रतियोगितामा कास्की, म्याग्दी, पर्वत, तनहुँ, गोर्खा, स्याङजा र लम्जुङ जिल्लाको सहभागिता रहेको थियो ।
