
पोखरा स्पोर्टस । साततालको शहरको रुपमा परिचय पाएको लेखनाथमा राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथन यहि जेठ २७ गते शनिबार हुने भएको छ ।
उक्त प्रतियोगिता पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा हुने लागेको हो । प्रतियोगितामा पुरुषतर्फ हाफ म्याराथन, राष्ट्रिय खुल्ला महिला तर्फ १० किमि दौड र विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड हुने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
पहिलो पटक औपचारिक रूपमा आयोजना हुन लागेको लेखनाथ हाफ म्याराथन लेखनाथस्थित भण्डारढिक रंगशालाबाट सुरू हुने सदस्य सचिव खड्काले जनाए । उनले भने–“प्रतियोगिताले लेखनाथमा रहेका रमणिय तालहरुको रुटहरुमा हुने दौडले यहाँको जनजिवन, सम्पदा र संस्कृतिलाई समेत उत्तिकै रुपमा प्रचार प्रसार गर्न सहयोग हुनेछ ।” यो प्रतियोगिता ‘लेक टु लेक’ अवधारणामा तयार गरिएको उनले जनाए ।
अन्तिम दर्ता मिति जेठ २५ गते तोकिएको उक्त प्रतियोगिताको खुल्ला पुरुष हाफ म्याराथनमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद रु ३० हजार, २० हजार र १० हजारका साथमा मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने पोखरातर्फको च्याम्यिनलाई नगद रु १० हजारका साथमा मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
त्यस्तै महिला १० किमि दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद रु ३० हजार, २० हजार र १० हजारका साथमा मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौडतर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजारका साथमा मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

