यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वरलाई

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न यु–२० खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जितेका छन् । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वर च्याम्पियन बनेका हुन् ।

हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा भएको प्रतियोगितामा इश्वरले कुल ८ अंक प्राप्त गरे । दोस्रो भएका कौशल थापाको पनि ८ अंक रहेपनि इश्वर प्रथम हुँदा थापा दोस्रो भए । यस्तै सात अंकका साथ अनिज पोखरेल तेस्रो भए । उनीहरुले क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै आदर्श गौतम चौथो र सुजना रानाभाट पाँचौ भए । यु–१६ तर्फ संगम सिम्खडा, यु–१४ तर्फ संकल्प श्रेष्ठ र यु–१० तर्फ प्रसंशा भण्डारी प्रथम भए । उनीहरुले समान पाँच पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले एक हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगिता दुई दिनसम्म चलेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १७ का वडासदस्य विक्रम गुरुङ, क्लबका संरक्षक भोजराज बराल, समाजसेवी पवित्रा थापालगायतको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष परिवेश थापाले गरेका थिए । सो अवसरमा उपाध्यक्ष गृष्मा पौडेल सचिव सृजन केसीले बोलेका थिए । प्रतियोगितामा स्विस लिग अन्तरगत ९ चरणको खेल खेलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close