
पोखरा, ११ जेठ । टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।
त्यस्तै, मञ्चले यसपालि लाइफ टाइम अचिभमेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।
यस अघि लाइफ टाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट र प्राडा वीरेन्द्रसिंह गुरुङ सम्मानित भैसकेका छन् ।
वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।
वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मीश्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) छन् ।
वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापा मगर (आईटीएफ तेक्वान्दो) तथा उत्कृष्ट प्रशिक्षकमा दीपकगोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।
यसपालि थप वर्ष चर्चित खेलाडी विधातर्फ एसएमएस आधारमा वर्ष खेलाडीपुरुष, महिला र उदियमान विधामा मनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिनेछ ।
मञ्च संस्थापक एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो ।
वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड विधामा समेत अवार्ड दिइनेछ । सोको सार्वजनिक भैसकेको छैन ।
मूलकार्यक्रममा वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई वीगो स्कुटर सहित अवार्ड दिइनेछ । उदियमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिनेछ । पत्रकारिता अवार्ड विधामा २० हजार सहित अवार्ड रहेको छ ।
पत्रकार सम्मेलनमाछनोट समिति संयोजक रामकृष्णज्ञवालीले छनोट आधारबारे प्रष्टपारेका थिए ।
मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारीले स्वागत र महासचिव विजय नेपालले कार्यक्रम संचालन गरेका थिए ।
‘समृद्धिकालागि खेलकुद’ मूलमन्त्रका साथपोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिक कार्यक्रम, खेलाडी र्याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ ।
कार्यक्रमलाई बतास ब्रदर्श प्रालिले मुख्य प्रायोजन गरेको छ । हालसम्म सहयोगी संस्थाहरुमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, कास्कीका गाउँपालिका, वडा, हङकङ व्युटी इन्स्टिच्युट, सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सन, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, जिल्ला खेलकुद विकास समिति कास्की लगायत रहेका छन् ।
मञ्च सल्लाहकार समेत रहेका पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले वर्ष उत्कृष्ट प्रशिक्षकको पुरस्कार वापत २५ हजार र हेल्थ अपडेटकी अनिषा श्रेष्ठ बाट उत्कृष्ट खेल संघलाई १५ हजार रुपैयाँ पुरस्कार प्रायोजन गरिएको छ ।
तस्वीर ः सुदर्शन रञ्जित
