सेपाकताक्रो गण्डकी प्रदेश स्तरिय रेफ्रि तथा प्रशिक्षक तालिम सुरु

पोखरा स्पोर्टस । सेपाकताक्रोको गण्डकी प्रदेश स्तरिय दुई दिने रेफ्रि तथा प्रशिक्षक तालिम शुक्रबारबाट पोखरामा सुरु भएको छ ।

गण्डकी प्रदेश सेपाकताक्रो संघको आयोजना तथा प्रदेश खेलकुद गण्डकीको सहयोगमा उक्त तालिम सुरु भएको हो । सो दुई दिने तालिमको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उद्घाटन गरेका छन् । सो अवसरमा सदस्य सचिव शर्माले मर्यादित र अनुशासित खेलकुदका लागि रेफ्रि र प्रशिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै गण्डकी प्रदेशमा रेफ्रि, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सुचिकृत कार्यलाई कडाइका साथ लागु गर्ने बताए ।

खेलकुदको कुनै भुगोलमा मात्रै बाँध्न नहुने तर्क अघि सार्दै सदस्य सचिव शर्माले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएकोले खेलाडीलाई मैदान सम्म ल्याउन सबैको भूमिका उत्तिकै अपरिहार्य रहने उल्लेख गर्दै भने–“हामी सबै एउटै डुङ्गाका यात्री हौं । हामी सबैको उद्धेश्य साझा छ । खेलकुद क्षेत्रलाई मर्यादित बनाउने संगै खेलाडीहरुलाई मैदान सम्म ल्याउन र सबैको भावना झल्किने गरी अघि बढ्न परिषद अघि बढेको छ ।”

कार्यक्रममा संघका प्रमुख सल्लाहकार याम बहादुर गुरुङले गण्डकी प्रदेशमा रेफ्रि र प्रशिक्षकहरुको तालिम पहिलो पटक सुरु भएको बताउँदै सेपाकताक्रो खेलको विकासका लागि ऐतिहासिक भएको बताए ।

गण्डकी प्रदेश सेपाकताक्रो संघ तदर्थ समितिका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य दिवाकार थापा, कर्ण बहादुर थापालगायतले आफ्ना भनाई राखेका थिए ।

गण्डकी प्रदेशमा नै पहिलो पटक सुरु भएको तालिममा एसियन सेपाकताक्रो महासंघका प्रशिक्षक मेघराज तोलंगी, सहायक प्रशिक्षक मोहन गुरुङले प्रशिक्षण दिने छन् ।

तालिममा कास्की, तनहुँ, स्याङजा, नवलपुर र बागलुङ जिल्लाका २५ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close