गण्डकी प्रदेश जुनियर कराते प्रतियोगिता जेठ १३ र १४ गते पोखरामा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश स्तरिय प्रथम जुनियर कराते प्रतियोगिता यहि जेठ १३ र १४ गते पोखरामा हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश सितेरियो कराते महासंघको समन्वय तथा कास्की जिल्ला सितेरियो कराते संघको व्यवस्थापनमा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको सहभागिता हुने भएको प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जनाएका छन् ।

प्रतियोगितामा महिला तथा पुरुषका गरी कुल १३ वटा इभेन्टमा ११७ जना खेलाडीले प्रतिष्पर्धा गर्ने छन् । जस अन्तर्गत कुमुते पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५ र ५० केजी तौल समुह र महिलातर्फ २५, ३०, ३५, ४० र ४५ केजी तौल समुहमा प्रतिष्पर्धा हुने संयोजक गुरुङले जानकारी दिए । त्यसै गरी पुरुष र महिला जुनियर काताको समेत एकल प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद रु ३०, २० र १० हजारका साथमा ट्रफी प्रदान गरिने छ भने कुमुते र एकल कातातर्फ प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close