तेक्वान्दोकी सन्दीपा लेभल टु प्रशिक्षक उर्तिण

पोखरा स्पोर्टस । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् ।

सन्दीपाले वर्ल्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आएकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् ।

सन्दीपाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकी छन् । सन् २०१६ मा अमेरिकाको पोर्टल्यान्डमा भएको आईएफओटीसी च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले सन् २०१८ मा स्पेनको बार्सिलोनामा भएको २०औं जोर्डन ओपनमा तेस्रो स्थान हात पारेकी थिइन् ।

यस्तै सन् २०२१ मा मलेसियामा भएको डीजी एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी उनले गत अगस्टमा मलेसियामै आयोजना भएको सराबाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् । यस्तै गत अक्टोबर २१ मा भएको दोस्रो टोरोन्टो ओपन अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितिन् । उनले श्रीचन्द्र कार्कीसँग मिलेर ३० वर्षमुनिको पेयर पुम्सेमा स्वर्ण पदक जितेकी थिइन् ।

उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा भने अफिसियल रेफ्रीजर्ज र टेक्निकलको भूमिका निर्वाह गरेकी छन् । सन् २०२२ को जुलाईमा अमेरिकामा भएको भर्जिनिया कपमा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेकी उनले गत सेप्टेम्बर २३ देखि २५ सम्म पोखरामा भएको तेस्रो माउन्ट एभरेस्ट जी–टु तेक्वान्दो च्याम्पियनसिपमा टेक्निकल टिमको भूमिका निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close