
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा स्तरिय फुटबल सुरु भएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा शनिबारबाट पोखरा रंगशाला र पोखरा १९ स्थित गोष्तेघाटमा खेल सुरु भएको हो । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा वडा नं २६ विजयी भएको छ । वडा नं ३ प्रतिष्पर्धी रहेको खेलमा वडा नं २६ १०–१ गोलले बिजयी भयो । २६ का लागि इन्द्र आलेले एक्लैले ४ गोल गरे । उनले खेलको २२, ३७, ४५ र ६४ औं मिनेटमा गोल गरेका थिए ।
पोखरा रंगशालामा नै सञ्चालन भएको दोश्रो खेल वडा नं ११ ले वाक ओभर दिंदा वडा नं १५ विजेता घोषित भयो भने तेश्रो खेलमा वडा नं २५ ले वडा नं ४ लाई ९–० गोल अन्तरले पराजित गरेको छ । पोखरा रंगशालामा नै सञ्चालन भएको चौथो खेलमा वडा नं ५ ले वडा नं २२ लाई २–१ गोल अन्तरले पराजित गरेको व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।
यता गोष्तेघाटमा भएका खेलहरुमा वडा नं ८ र ३० बिजयी भएका छन् । वडा नं ८ ले वडा नं ७ लाई १–० ले पराजित गर्दा वडा नं ३० र १ को खेल भने रोमाञ्चक नतिजामा सम्पन्न भयो । ३५–३५ मिनेटको खेलमा २–२ गोलको बराबरी सकिएको खेल टाइव्रेकरमा धकेलिएको थियो । टाइव्रेकरमा समेत बराबर नतिजा आए पछि सडेन डेथमा वडा नं ३० बिजयी भएको कास्की फुटबल संघका महासचिव बुद्धि बहादुर खत्रीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यस अघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर घनराज आचार्यले गरेका थिए । पोखरा महानगर खेलकुद विकास समितका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समितिका सदस्य सचिव सुवास खड्काले प्रतियोगिताका बारे जानकारी दिएका थिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्डले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पदान संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको सदस्य सचिव खड्काले बताए । प्रतियोगिता सम्पन्न गर्न ९ लाख हुने आयोजकले जनाएको छ । यहि जेठ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० वडाहरुको सहभागिता रहेको छ ।
