तनहुँको रिसिङलाई चिनाउन म्याराथन

पोखरा स्पोर्टस । “यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना,अनि दोलेहो कि, मोहनीले हो कि, यो नानीको शिरै ढल्केको हामी पनि रिसिङको, तिमी पनि रिसिङको, लाइदेऊ माया एकै किसिमको……….।”

चर्चित गायक तथा सर्जक स्व. झलकमान गन्धर्वका यी कालजयी गीतका हरफहरूले तनहुँ रिसिङको संस्कृतिलाई झल्काएको मात्र छैन । गीत मार्फत गाउँलाई चिनाएको छ । नेपाली संगीतमा झलकमानदेखि प्रेमध्वज प्रधान र नयाँ पुस्ताका लोकप्रिय गायक विधान श्रेष्ठसम्मले यो गीतलाई विभिन्न कालखण्डमा गायका कारण अहिले पनि रिसिङको नाम चर्चामा छ । गाउँलाई चर्चामा ल्याउन कुनै जमनामा गीत संगीतलाई गतिलो माध्यमका रुपमा प्रयोग गरिन्थ्यो । अहिले पनि यो माध्यमलाई प्रयोग गरिरहेका छन । पछिल्लो समय गाउँ ठाउँलाई चिनाउन म्याराथन पनि गर्दै आइरहेको छ ।

सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना गाउँपालिका माध्ये तनहुँको रिसिङ पनि एक हो । रिसिङलाई समृद्घिको आधार नै कृषि, संस्कृति, पर्यटनलाई मानेको छ । रिसिङको पर्यटन प्रर्बद्धन गर्न गाउँपालिकाले पहिलो पटक रिसिङ म्याराथनको आयोजना गरेको छ ।

यही पुस २७ गते गाउँपालिका भित्रका पर्यटकिय गन्तव्यको प्रर्वद्धन गर्न म्याराथन आयोजना गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । ‘पहिले रिसिङलाई गीतले चिनायो,‘ उहाँले भन्नुभयो, ‘अव खेलकुदले चिनाउने हो ।’ रिसिङ पर्यटकीय सम्भावना बोकेको धेरै गन्तवय छन । तर, प्रचारप्रसार अभावमा आझेलमा परेका छन । त्यसैले म्याराथनको माध्यमबाट तीनै गन्तव्यको प्रबद्र्धनमा जुटेका हौ ।

खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुने रिसिङका । खुलातर्फ ४२ किलोमिटर दूरीमा धावकहरु दौडनेछन् । रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ ।यो विधामा प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार र तेस्रोले २५ हजार प्राप्त गर्नेछन । सान्त्वना हुने ३ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय दौड रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर सम्म १० किलोमिटरको दुरीमा हुनेछ । यो दुरीको दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला दौड ४ किलोमिटर दुरीमा हुनेछ । गढीडा“डा, रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडनेछन् । यो विधामा प्रथम हुनेले नगद १० हजार रुपैया“, दोस्रोले ८ हजार र तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close