काभा महिला भलिबल च्यालेन्ज कपलाई टाइगर ग्रुपको १ लाख सहयोग

पोखरा स्पोर्टस । नेपाल भलिबल संघको आयोजनामा हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि टाइगर ग्रुप अफ पोखरा नेपालले आर्थिक सहयोग गरेको छ ।

गण्डकी प्रदेशमा रहेर भलिबल बिकास र सामाजिक कृयाकलापमा कृयाशिल संस्था टाइगर ग्रुपले १ लाख नगद सहयोग गर्ने घोषणा गरेको हो । सो बारे जानकारी दिंदै संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले नेपालमा आयोजना हुने प्रतियोगितालाई विशेष सहयोग गरेको बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले थोरै सहयोगले पनि प्रतियोगिता सफल बनाउन सहयोग पुग्ने भएकोले संस्थाले सहयोग गर्ने निर्णय गरेको बताए ।

अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले नै भलिबल खेलको विकासमा थप सहयोग पुग्ने बताउँदै अध्यक्ष शर्माले गण्डकी प्रदेशका सबै जिल्ला भलिबल संघहरु, सहयोगीहरुलाई समेत सहयोगका लागि आह्वान गरे । “यो भलिबल विकासका लागि सबैको साझा कार्यक्रम हो । हाम्रो सानो सहयोगले पनि प्रतियोगितालाई भव्य बनाउन सहयोग पुग्छ । हामीले आफ्नो संस्थाको क्षमताले सक्दो सहयोग गरेका हौं । म अरु सहयोगी मनहरुलाई सहयोगका लागि आग्रह गर्दछु ”–उनले भने ।

टाइगर ग्रुपले गरेको आर्थिक सहयोगका लागि नेपाल भलिबल संघका जितेन्द्र बहादुर चन्दले आभार व्यक्त गरेका छन् । उनले यस्तो सहयोग आउने क्रम जारी रहेको बताउँदै काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ सबैको सहयोगले नै भव्य रुपमा सफल हुने बताए ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ यहि जेठ ८ गतेबाट काठमाण्डौमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल सहित ८ देशको सहभागिता रहेको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close