पोखरामा सुरु भयो ११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप

पोखरा स्पोर्टस । पोखरामा सोमबारबाट ११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप २०८० पोखरा रंगशालास्थित राष्ट्रिय आर्चरी खेल मैदानमा सुरु भएको छ ।

नेपाल आर्चरी संघको आयोजना, राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग तथा नेपाल ओलम्पिक कमिटिको सहप्रायोजनमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले नेपाली खेलकुदमा देखिएका समस्याहरुको बारेमा गम्भिर रुपले समिक्षा हुनुपर्ने कुरा औंल्याएका छन् । उनले भने–“खेलकुदका पूर्वाधार नभएका होइनन् । खेलाडी पनि छन् तर हामी कहाँ भने जस्तो गरी खेलकुद विकासको योजना बनेका छैनन् । यस बारे गम्भिर समिक्षा गरी खेलाडीको हित र खेलकुद विकासका लागि योजना निर्माण आवश्यक छ ।”

नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङको अध्क्षतामा भएको उद्घाटन कार्यक्रममा आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले आर्चरी खेलले छोटो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै उपलव्धि हासिल गरे पनि राज्यको सहयोग भने न्यून रहेको बताए । उनले भने–“राज्यले यसलाई विशेष खेलको रुपमा राखेको छ । यसको विकासको गति पनि उत्तिकै प्रभावकारी छ । तर राज्यले खेल विकास र पूर्वाधार निर्माणमा खासै चासो दिएको छैन ।”

कार्यक्रममा आफ्ना भनाई राख्दै संघका महासचिव रमेश प्रसाद सिवाकोटीले राज्यले नै आर्चरी खेलको विकासका लागि विनियोजन गरेको रकम समेत समयमा उपल्वध नहुँदा समस्या आएको बताए । उनले राष्ट्रिय खेलकुद परिषदले यस बारे गम्भिर हुनुपर्ने उल्लेख गर्दै आर्चरी खेलको विकासका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने औल्याए ।

सो अवसरमा संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले वर्तमान अवस्थामा आर्चरी खेलको विकास हेर्दा आफूलाई निकै खुसीको अनुभुती भएको बताए ।

बैशाख २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा तिन विभागिय सहित पाँच प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, शसस्त्र प्रहरीसहित कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका कुल ६२ खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा २२ महिला र ४० पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्टमा छुट्टा छुट्टै प्रतिस्पर्धा हुने अध्यक्ष गुरुङले जानकारी दिएका छन् । व्यक्तिगततर्फ रिकर्भ, कम्पाउण्ड र स्टाण्डर्डतर्फ महिला तथा पुरुष, रिकर्भ टिम इभेन्ट र मिक्स इभेन्ट तथा स्टाण्डर्डतर्फ मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वर्ण ९, रजत ९ र काश्य ९ गरी कुल २७ पदकका लागि प्रतिस्पर्धा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close