
पोखरा स्पोर्टस । पोखरामा शनिबार सवैभन्दा लामो र कठिन हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलन सुरु भएको छ ।
हिमालयन एक्स्ट्राईको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सुरु भएको हो । शनिबार विहान ४ः०० बजे फेवातालमा ३.८ किमि पौडीबाट सुरु भएको ट्रायथलन संघका केन्द्रिय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । पौडीबाट सुरु भए संगै १७५ किमि साइकल दौड समेत सुरु भएको छ ।

उक्त साइकल दौड पोखरा–कुस्मा–बागलुङ हुँदै पुनः फर्किएर काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै काँडेबाट ४३ किमि दौड सुरु हुनेछ । दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ क्याम्प, लो क्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर पुनः माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ । जसलाई सम्पन्न गर्न एक खेलाडीले औसत १६ देखि २० घन्टा लगाउने छन् । प्रतियोगिता अवेर राती सकिनेछ ।
प्रतियोगितामा २२ देशका ३६ खेलाडीको सहभागिता रहेको छ । जसमा ५ महिला खेलाडीले सहभागिता जनाएका छन् ।
