पोखरा स्पोर्टस अवार्ड : वर्ष उत्कृष्ट खेलाडीका लागि करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा

पोखरा स्पोर्टस । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । उनीहरु तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधा तर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ ।

यस अघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का रहेको छन् ।

करण केसी–क्रिकेट
नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसीको जन्म २०४८ साल असोज २४ गते बागलुङमा भएको हो । उनी क्रिकेटका अलराउण्डर खेलाडी हुन् । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन् उनले त्यस अवधिमा ३ सय १४ रन बनाए ।

यसैगरी टि–२०मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन् । बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन् ।

करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गरेका थिए ।

नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए । १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए ।

उनले तीन पटक चार विकेट लिएका थिए । गतवर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए । त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए । उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन् ।

केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए । करण ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने नेपाली पहिलो खेलाडी हुन् । आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ को दिन बढी खुशी लाग्ने गरेको उनी बताउँछन् ।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए । यसका अलावा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए । ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए ।

गंगाबहादुर कुँवर –आर्चरी
गंगाबहादुर कुँवर आर्चरीका खेलाडी हुन् । स्याङजा जिल्लामा जन्मेका उनको बसोबास तनहुँको भीमाद–६ मा रहेको छ । बाबु रेशम बहादुर कुँवर र आमा मनसुब्बा कुँवरका छोराका रुपमा २०३९ साल साउन २१ गते उनको जन्म भएको हो ।

भारतीय सेनामा कार्यरत उनले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल भए । उनले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टीममा स्वर्ण पदक जित्न सफल भएका हुन् । आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो ।

यसअगाडि उनले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रिकर्भ व्यक्तिगत तर्फ कांस्य पदक र रिकर्भ पुरुष टोलीमा स्वर्ण पदक जितेका थिए । त्यसै गरी सुदूरपश्चिममाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत रिकर्भ रजत पदक, रिकर्भ मिक्स टीममा रजत पदक र रिकर्भ पुरुष टोली स्वर्ण पदक जितेका थिए ।

प्रदीप खड्का –टेनिस
टेनिसमा नेपालका नम्बर–१ खेलाडी हुन्–प्रदीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवन सुरुआत २०६५ सालदेखि भएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जिन्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । उनी ८ औं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगल र मिक्स डबलका विजेता खेलाडी समेत हुन् ।

दोस्रो बीर गणेशमान सिंह नेसनल ओपन प्रतियोगितामा मेन्स सिंगल तर्फको विजेता र मेन्स डबल तर्फ उपविजेता बन्न पुगे । उनले यो वर्ष १९ औं माछापुच्छे बैंक ओपन एण्ड भेटान्स टेनिस प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल तर्फ उपाधी जित्न सफल भए ।

भारतको सिल्गुडीमा भएको सिल्गुडी प्रतियोगिताको मेन्स सिंगलमा उपबिजेता र मेन्स डबलमा बिजेता बने । फागुनमा भएको ५ औं बुटबल ओपन एण्ड पहिलो मयुर कप टेनिस प्रतियोगितमा मेन्स सिंगलमा विजेता र मेन्स डबलमा उपविजेता बने ।

पोखरा ५, प्रस्याङमा जन्मेका खड्काले पोखराकै बाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए ।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेका थिए । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भएका थिए ।

कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कुल सातवटा विधामा अवार्ड प्रदान गरिनेछ ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।

यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close