अभिषेक र अभिलाषाले जिते सिटिजन्स बैंक टेनिस उपाधि जिते

पोखरा स्पोर्टस । अभिषेक बास्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा पोखराका अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अभिलाषाले माहिका राणालाई सीधा सेटमा ६–४ र ६–४ ले हराइन् । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले फाइनलमा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीलाई ५–७, ६–१ र १०–५ ले पाखा लगाउदै पहिलो भए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा कमल थापा र छ्याम्बा डुन्डुपको जोडीमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्‍ यो ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे शीर्ष स्थानमा रहे । जीवनले फाइनलमा जित प्रधानलाई ६–२ र ६–३ ले हराए । ४५ वर्षमाथि पुरुष सिंगल्सको स्वर्ण भिडन्तमा महेश श्रेष्ठले बाजी मारे । उनले फाइनलमा रोहित सुनुवारलाई ६–४, ४–६ र १०–५ ले पन्छाए ।

विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा यसअघि मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडी तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भएका थिए ।

हरेक स्पर्धाको शीर्ष तीन स्थान हात पार्नेले नगद पुरस्कार हात पारे । कुल ५ लाख ४२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारी, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

बैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा १ सय ५२ खेलाडी सहभागी थिए । त्यसमा सबै भन्दा बढी उमेरका ७८ वर्षीय मुरारीभक्त माथेमा रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close